राष्ट्रिय नाचघर जमलमा निबन्धकार कुमारी लामाद्वारा लिखित पुस्तक दर्ज्यु संलाप लोकार्पण सम्पन्न भयो । प्रा.डा. अरुण गुप्तो, डा. विन्दु शर्मा, फूलमान बल, प्रकाशक पुष्पराज पौडेल र लेखक स्वयंले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभयो ।

भाषाविद् अमृत योञ्जनले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि अरुण गुप्तोले आफूलाई किताबले धेरै विषयमा ज्ञान दिएको र किताबमा भएका विषयले आफूलाई अत्यन्त प्रभावित पारेको साथै स्थानीय परिवेश र चित्रणले उक्त स्थानमा नै पुगेर अवलोकन गर्न मन लागेको बताउनु भयो ।

डा. विन्दु शर्माले निबन्धमा भुँइमान्छे र नारीका विषयमा गहन विषय उठान भएको बताउनु भयो । निबन्धमा आख्यानीकरण पनि रहेको सबै पाठकका लागि उपयोगी हुने बताउनु भयो ।

फूलमान बलले निबन्धमा ठूला मान्छे र ठूलो विषय नभए पनि राम्रो र स्तरीय रहेको र जात र वर्णमा लोप हुन लागेको जातको विषयमा लेखेर महत्वपूर्ण योगदान सफल हुनुभएकोमा बधाई दिनुभयो ।

लेखक कुमारी लामाले आफूले निबन्धमा सक्दो प्रयास गरेको र सृजनात्मक सुझाव आफ्ना लागि सदैव स्वीकार्य हुने बताउनु भयो ।

शिखा बुक्सद्वारा प्रकाशित दर्ज्यु संलापको मूल्य रु. ५२५/– रहेको छ ।