
अनुसन्धानमार्फत नेपाली नाटक र रङ्गमञ्चको समग्रतालाई समेट्ने उद्देश्यले २०७८ मा स्थापना भएको नेपाल नाट्यप्रतिष्ठान पोखराले ‘नेपाली नाट्यविमर्श’ शीर्षकको ग्रन्थ नेपालका प्रथम राष्ट्रपतिको डा. रामवरण यादवको हातबाट नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा विमोचन हुँदैछ ।
उक्त ग्रन्थका प्रधान सम्पादक प्रा.डा. रामचन्द्र पोखरेल हुन् भने डा. अशोक थापा, पुरु लम्साल र सुन्दर मानन्धर सम्पादकको भूमिकामा रहेका छन् ।
प्रस्तुत ग्रन्थलाई समालोचक प्रा.डा. दयाराम श्रेष्ठले नेपाली नाट्यवेदान्त मान्दा पनि हुन्छ, नेपाली नाट्यज्ञानकोश मान्दा पनि हुन्छ वा नेपाली नाट्यसागर मान्दा पनि हुन्छ भनी टिप्पणी गर्नु भएको छ ।
एक हजार पृष्ठमा संरचित उक्त ग्रन्थ चार खण्डमा विभाजित छ । यसको पहिलो खण्डमा ३२ लेख, दोस्रो खण्डमा सत्र ओटा कार्यपत्र, तेस्रो चार ओटा नाट्यवार्ता रहेका छन् । नेपाली नाटकको रङ्गमञ्चका साथ भारतका दार्जिलिङ, सिक्किम, कलकत्ता, असम, डुबर्स, सिलगढी आदि स्थानका रङ्गगतिविधिलाई पनि यस ग्रन्थमा समेटिएको छ ।
यस ग्रन्थले नाटककार, कलाकार, निर्देशकः, नाट्यअनुसन्धाताका साथै स्वतन्त्र अध्येयतालाई सहयोग पुर्याउने विश्वास प्रधान सम्पादक डा. पोखरेलले व्यक्त गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

