बिर्तामोड । ‘दशैंको कोसेली किताब’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा किताब मेला हुने भएको छ । लेखक र पाठकहरूबीच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको आयोजक संस्था वीरता रिडर्सले जनाएको छ ।
रिडर्सका संयोजक तीर्थ सिग्देलका अनुसार बिर्तामोडको शनिश्चरे रोडस्थित नेपाल बैंक छेउमा असोज ७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । सो मेलामा विशेष गरेर झापाली लेखकहरूका किताबहरूको छुट्टै स्टल रहने र अरू सम्पूर्ण किताब पाइने बताइएको छ । साथै, प्रत्येक दिन लेखकहरूसँग पाठकहरूको संवाद गराउने उद्देश्यले कार्यक्रम गरिने छ ।
इशा बुक्स एण्ड स्टेशनरीले स्टल व्यवस्थापन गरेको मेलामा ९ सय किताब रहनेछन् भने एक सय जति झापाका लेखकहरूका किताब राखिने इशा बुक्सका सञ्चालक केशव मैनालीले जानकारी दिनुभयो । उहाँले मेलामा शिक्षा, वित्तीय क्षेत्र, सहकारी, साहित्यलगायत सबै प्रकारका किताब रहने उल्लेख गर्नुभयो ।
उहाँले झापाका सबै लेखहरूलाई आफ्ना प्रकाशित कृति बिक्रीका लागि उपलब्ध गराउन आग्रह समेत गर्नुभएको छ ।
एकले अर्काका किताब किनौं भन्ने सोचका साथ र दशैं पढेर मान्यजनलाई किताब उपहार दिऔं भन्ने थप उद्देश्य रहेको मेला आयोजक संस्थाका संयोजक सिग्देलको भनाइ रहेको छ ।
मेला साहित्य पत्रकार मन्च, झापाली साहित्य समाज र बिर्तामोड पुस्तकालयको सहकार्यमा हुन गइरहको छ । बिर्तामोडमा मेलाबारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा रिडर्स अभियन्ता सन्तोष आचार्यले यो मेला अत्यन्तै उपयोगी हुने धारणा राख्नुभयो ।
किताब मेलामा ३० प्रतिशतसम्म छुट पाउनु पाठकहरूका लागि धेरै फाइदाको कुरा भएको उहाँको भनाइ थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।