काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘मुभी लभर्स कम्युनीटी’ले असोज ८ गते चलचित्र ‘आँखा’को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको ‘आँखा’ले शहरी गरिब र सुकुम्बासीको कथा बोकेको छ । पोस्टर र टिजर सार्वजनिक भएसँगै ‘आँखा’ले दर्शकको ध्यान तानेको थियो ।
स्थापनाको दशौं वार्षिकोत्सवको अवसर पारेर ‘मुभी लभर्स ग्रुप’ले यो चलचित्र विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक चलचित्रलाई आमदर्शकसामु पुर्याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको ग्रुपले जनाएको छ ।
“राम्रा नेपाली फिल्मलाई माया गरौं भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौं,” ग्रुपले आफ्नो पोस्टमा भनेको छ, “हाम्रो दसौं वार्षिकोत्सवलाई ‘आँखा’सँगै मिलेर मनाउँदै छौं । हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो ।”
‘आँखा’मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ ।
“मानवता, सामाजिक दबाब, नैतिकता र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्,” निर्देशक योन्जन भन्छन्, “यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसहरूले गर्ने संघर्षको मार्मिक दृष्टिकोण हो ।”
दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्शाउन ‘आँखा’को रमाइलो कथा तयार गरिएको उनी बताउँछन् ।
‘मुभी लभर्स ग्रुप’ले केही वर्षदेखि फरक धारका चलचित्र विशेष प्रदर्शन र बहस गर्दै आएको छ । ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘आचार्य’, ‘डाकिनी’, ‘म अलप हुन चाहन्छु’ लगायत चलचित्र र वृत्तचित्र प्रदर्शन गरिसकेको ग्रुपले नेपाली चलचित्रलाई सबैखाले दर्शकसम्म पुर्याउन सेतुको भूमिका खेल्दै आएको बताएको छ ।
यो चलचित्र असोज ८ गते मंगलबार बेलुकी ५ बजे सुन्धारास्थित सीडीसी सिनेमामा प्रदर्शन हुनेछ ।

टिकटका लागि https://movieloversnp.com/product/aakha/ मा क्लिक गर्नुहोला ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ मंसिर २०८२, शनिबार 






