अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोरिया च्याप्टरले सातौँ अधिवेशन, कृति विमोच र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । दक्षिण कोरियाको राजधानी सउलमा अनेसार कोरिया च्याप्टर अध्यक्ष ह्यारी बोण्डको सभापतित्वमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा कवि तथा पत्रकार जीवन खत्रीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डिइबी सिकारूको कवितासङ्ग्रह ‘यौवन हराएको मान्छे’को कोरिया लोकार्पण गरिएको छ । साहित्यपोस्ट (इ) दैनिकले प्रकाशनमा ल्याएको सिकारूको कवितासङ्ग्रहको नेपाल लोकार्पण यसअघि नै गरिएको थियो ।

अधिवेशन र कवितासङ्ग्रह विमोचनका साथमा रचना वाचन पनि गरिएको सो कार्यक्रमको उद्देश्य नेपाली भाषा साहित्यको विकास र विस्तार रहेको थियो ।

कार्यक्रममा साहित्यकार, साहित्यप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।