‘पर्पला’ उपन्यास लेखेर साहित्यमा स्थापित भएका लेखक मिलन संग्रौलाले आफ्नो उपन्यासको नाममा चलचित्र बन्ने खबर पाएपछि आक्रोशित भएका छन् ।
सामाजिक सञ्जालमा केही युवाले ‘पर्पला’ नामको चलचित्रको घोषणा गरेपछि लेखक संग्रौलाले त्यसमा आपत्ति जनाएका हुन् ।
‘उपन्यासको नाम लेखकको ब्राण्ड हो,’ साहित्यपोस्टसँग कुरा गर्दै उनले भने, ‘हाम्रो आम्दानीको स्रोत पनि त्यही हो । लेखकलाई नसोधिकन, अनुमति नलिइकन यसरी चलचित्रको घोषणा गर्नुको अर्थ उपन्यासको लोकप्रियतालाई क्यास गर्न खोजेको स्पष्ट छ ।’
उनले भने, ‘हरेक लेखक आफ्नो उपन्यासमा चलचित्र बनोस् भन्ने चाहन्छ । त्यो आम्दानीको स्रोत मात्र होइन, सिर्जनाको कपिराइटको कुरा पनि हो । लेखकले वर्षौ प्रचार गरेर बनाएको ब्राण्डलाई अरुले सिनेमा बनाउनु बौद्धिक शोषण हो ।‘
केही समयअघि अस्ट्रेलियामा बसोबास गर्ने केही युवाले ‘पर्पला’ चलचित्रको शुभमुहूर्त गरेको घोषणा गरेका थिए । मुहूर्तपछि धमाधम चलचित्र बनाउने प्रक्रिया सुरु भएपछि लेखकले आपत्ति जनाएका हुन् ।
‘मैले घोषणाकर्ताहरुलाई सम्पर्क गरेँ,’ उनले भने, ‘सुरुमा उहाँहरु सम्पर्कमा आउनु भयो तर पछि मसँग कुरा गर्न चाहनु भएन । यसबाट पनि उहाँहरुको नियत खराब भएको सजिलै बुझ्न सकिन्छ ।‘
घोषणा गरिएको चलचित्रको नाम मात्र होइन, त्यसमा प्रयोग गरिएको रङ्ग र ब्रान्डिङ पनि उस्तै छ । ‘पर्पल’ कलरमै निर्माता मध्येका एक पुकार गौतमले फेसबुकमा लेखेका छन्, ‘आजबाट शुभमुहूर्त गरियो । आशा गर्छु, हजुरहरुको अपार माया पाउनेछु ।‘
तर निर्माताहरुले नाम मिले पनि ‘पर्पला’ उपन्यासको कथासँग सिनेमाको कुनै साइनो नभएको बताएका छन् । ‘पर्पला’ नाम भएपछि पर्पल कलरको प्रयोग गरिनु सामान्य भएको पनि निर्माता पक्षको दाबी छ ।
लेखक संग्रौलाले भने, ‘उहाँहरु सम्पर्कमा नआइकन सिनेमा बनाउने जिद्दी गर्नुभयो भने म प्रतिलिपि अधिकारका लागि लड्छु । त्यसका लागि मैले बौद्धिक सम्पत्ति अधिकारको रक्षा गर्ने प्रतिलिपि अधिकारको रजिस्ट्रारको कार्यालयमा इमेलमार्फत निवेदन दिएको छु । अनुकूल अवस्था हुने बित्तिकै बाँकी प्रक्रिया सुरु गर्छु । लाखौँ लगानी डुबाउनतिर लाग्नुहुन्न होला भन्ने अपेक्षा गरेको छु ।‘
यसअघि पनि सुविन भट्टराईको ‘समर लभ’ उपन्यासमा पनि लेखकको अनुमति नलिइकन चलचित्र बनाउने घोषणा गरिएको थियो । लेखकले आपत्ति जनाएपछि रोकिएको थियो । पछि लेखकले पारिश्रमिक लिएर उपन्यासमा आधारित ‘समर लभ‘ चलचित्र बनाउने अनुमति दिएका थिए । त्यसैगरी अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’कै नाममा केही निर्माताहरुले चलचित्र बनाउने प्रयास गरेका थिए । लेखक कोइरालाले प्रतिलिपि अधिकारमा निवेदन दिएपछि सो कार्य रोकिएको थियो ।
‘मैले आधा जून नामक चलचित्रको पटकथा लेखिरहेको थिएँ तर झलक सुवेदीको उपन्यास पनि त्यही नाममा निस्किएको थाहा भएपछि हामीले चलचित्रको नाम परिवर्तन गर्योँ,’ नेपाली चलचित्रका लेखक सामीप्यराज तिमल्सेनाले साहित्यपोस्टसँग भने, ‘चलचित्र बनाउनेसँग नैतिकता हुनुपर्छ । यो कानुनी कुरा भन्दा पनि नैतिकताको कुरा हो ।‘
लेखिएको पुस्तकका कारण बजारमा त्यो नाम सुनिएको हुन्छ । त्यसले चलचित्रप्रति पाठक/दर्शकको धारणा सकारात्मक हुने भएकाले पनि चर्चित पुस्तकको नाममा चलचित्र बन्ने गरेको अनुभव तिमल्सेनाको छ ।
‘तर नामकै कारण चलचित्रले व्यापार गर्छ भन्ने चाहिँ होइन,’ उनी भन्छन्, ‘त्यसैले नाम जुधाउनु चर्चामा आउन चाहने प्रयासबाहेक केही होइन ।’
तिमल्सेना थप्छन्, ‘सिनेमाको चुरो नबुझ्नेहरुबाट यस किसिमका काम हुने गरेका छन् । चलचित्र बनाउने नै भए लेखकसँग अनुमति लिएर धेरथोर पैसा तिरेर चलचित्र बनाउँदा बौद्धिक जगतले त्यस्ता चलचित्रकर्मीहरुलाई सम्मानको नजरले हेर्छन् । यसो गर्नबाट यो क्षेत्र चुकिरहेको छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।