काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘मातृभाषा साहित्य’को १४ औं शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम देवकोटा सभाकक्षमा आयोजना गरियो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र डा. हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै शाहीले अछामी साहित्यको परिचय, नेपाली भाषासँगको बोधगम्यता, ऐतिहासिक, राजनीतिक र सामाजिक मान्यता, अनुसन्धान,
नाम र मूल स्थानीक, क्रिया र विशेषणका बीच सङ्गति र अछामी भाषाको साहित्यिक अवस्थाका बारेमा आफ्नो अनुसन्धानात्मक दृष्टिकोण राख्नुभएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यपत्रबारे आफ्नो दृष्टिकोण राख्दै प्रज्ञा-प्रतिष्ठानले सिर्जनशील र अनुसन्धानात्मक कार्यका लागि अवसर प्रदान गर्न सकिने बताउनुभएको थियो । अछामी भाषा र साहित्यको बारेमा डा. हर्कबहादुर शाहीले महत्त्वपूर्ण आधारभूत कुराहरू उल्लेख गरेकोमा कुलपति राईले चर्चा गर्नुभएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपालमा बोलिने भाषा र भाषिकाहरूको मूल मर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनु भएको थियो । उहाँले अछामी भाषा र साहित्यको थप अनुसन्धान गर्न जोड दिनुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा नेपालको गतिलो सम्पत्ति भएको चर्चा गर्दै डा. हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको अछामी भाषा र साहित्यको अवस्था विषयक कार्यपत्रले ठूलो प्रभाव पार्ने बताउनुभएको थियो । प्राज्ञ मुकारुङले मातृभाषा साहित्यको बहसले सबैलाई उत्साहित पारेको उल्लेख गर्दै आगामी असोज १८ गते शुक्रवार खालिङ भाषा साहित्य बारे बहस हुने बताउनुभएको थियो ।

उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट डा. सोम धिमाल, शिवप्रसाद जोशी, भूपध्वज, यासेली र शाक्य सुरेनले आआफ्नो जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा कलाकार हिरन राईले ‘बिनायो र पात’ बजाएर रैथाने बाजाको धून प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा ल्होमीभाषाको कविता छेजाप ल्होमी, जिरेल भाषाको कविता टीकाभक्त जिरेल र नेपाल भाषाका कवि दिव्या बज्राचार्यले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियो ।