पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा काङ्ग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेकोमा अहिले अध्ययन गर्ने संस्कृति हराएको बताएका हुन्।
भट्टराईले अहिले राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्ममा पठन संस्कृति हराएको बताए।
‘हिजोका हाम्रा साथीहरु त्यत्रो भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा काङ्ग्रेस, कम्युनिष्ट सबै साथीहरु जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो। पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौं,’ उनले भने, ‘काङ्ग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नुभयो । कम्युनिष्टहरू अलि बढी जो पढ्ने हो, अब कुनै खास फरक छैन । उहाँहरूले पनि पढाइलेखाइमा रुचि राख्नुहुन्न ।’
वैकल्पिक ढङ्गले जानुपर्छ भन्नेहरूले अलिअलि मेहनत गर्न खोजे पनि नभइरहेको उनले बताए । ‘हामीले वैकल्पिक ढङ्गले जानुपर्छ भन्नेहरूले अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि अरण्य रोदन जस्तो भइरहेको छ,’ उनले भने।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।