नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा शैलेन्द्र अधिकारीद्वारा लिखित् ‘अर्हत्’ उपन्यासको विमोचन भयो ।
बौद्धदर्शनमा आधारित उक्त उपन्यास अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीर, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, साहित्यका नवराज लम्साल, भिक्षु महासंघका सचिव निग्रोध भन्ते, अग्रज्ञानी गुरुमा, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेल, पब्लिक क्याम्पस संघ नेपालका महासचिव गोबिन्दबहादुर कार्की तथा लेखकले संयुक्त रूपमा विमोचन गरे ।
उपन्यासकारलाई शुभकामना दिंदै निग्रोध भन्तेले बुद्ध जन्मेको देशमा बुद्धसम्बन्धी लेखन तथा अनुसन्धान कम भइरहेको, राज्यका भाषा साहित्य संस्कृतिसम्बन्धी निकायहरूले बेवास्ता गरिरहेको अवस्थामा लेखक शैलेन्द्र अधिकारीद्वारा बुद्धजीवनीमा आधारित उपन्यास लेखिनु सुखद् कुरा भएको बताए ।
किताबको समीक्षा गर्दै उमेश चौहानले बुद्ध आध्यात्मिक व्यक्तित्व भएको र उनको प्रभाव राजनीतिमा झन् बढी रहेको बताए । बुद्धको सहअस्तित्वको अवधारणाले नेपाली राजनीति प्रभावित हुनुपर्ने उनको तर्क थियो । यस दिशातर्फ प्रेरित गर्न अर्हत् उपन्यासमा प्रशस्त गुणहरु रहेको कुरा उनले बताए ।
अर्का समीक्षक साहित्यकार नवराज लम्सालले पूर्वीय ज्ञान परम्परा अत्यन्त समृद्ध रहेको र त्यस परम्पराको आदरणीय महामानव बुद्ध रहेको धारण राखे । सांख्य दर्शन जहाँ पुगेर रोकिन्छ त्यहीँबाट बुद्धले ज्ञानको नयाँ क्षितिज उघारेको कुरालाई उपन्यासकारले उपन्यासको वैचरिक विषय बनाएको उनले बताए ।
शिखा बुक्स्ले बजारमा ल्याएको उपन्यास हार्डकभर र सफ्टकभरमा उपलब्ध छन् । यसअघि उपन्यासकार शैलेन्द्र अधिकारीका निर्वेद उपन्यास र बह्मास्त्र कथासंग्रह प्रकाशित भइसकेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० पुष २०८२, बुधबार 










