काभ्रे । ज्ञानकाजी मोहनलाल खिं स्मृति सेवा कोषबाट इतिहासकार तथा संस्कृतिविद् हरिराम जोशी र साहित्यकार तथा संस्कृतिकर्मी  सूर्यप्रसाद लाकोजू सम्मानित भएका छन् ।

कोषले जोशीलाई ज्ञानकाजी मोहनलाल खिं इतिहास गौरव सम्मान र लाकोजूलाई ज्ञानकाजी मोहनलाल खिं संस्कृति गौरव सम्मान समर्पण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पुरातत्त्वविद्, इतिहासकार प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठले उहाँहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले नेपाली संस्कृति, शिक्षा, साहित्यका त्रिवेणी ज्ञानकाजी मानन्धर र उहाँका पिता मोहनलाल खिं मानन्धरको स्मृतिमा स्थापित सम्मान सही पात्रले पाएको विचार व्यक्त गरेका छन् । समाजका लागि, राष्ट्रका लागि उल्लेखनीय काम गरेका व्यक्तित्वको नाममा स्थापित सम्मान त्यस्तै कर्म गरेका व्यक्तिहरुले पाएका छन् भन्ने विचार कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले व्यक्त गरे ।

त्यस्तै, वरिष्ठ साहित्यकार मोहन दुवालले सम्मानित प्रतिभाहरुका बारेमा बोल्दै हरिराम जोशी इतिहास, संस्कृतिको क्षेत्रमा अग्लो व्यक्ति भएको र त्यो उचाइ हासिल गर्न कठिन भएको बताए भने सूर्यप्रसाद लाकोजू बहुमुखी प्रतिभाका धनी, साहित्य र संस्कृतिमा निरन्तर कलम चलाएर आएका समर्पित व्यक्तित्व भएको विचार पोखे ।

कार्यक्रममा सम्मानित प्रतिभाहरु हरिराम जोशी, सूर्यप्रसाद लाकोजू, इमेज च्यानलका प्रबन्ध निर्देशक रघुवर मानन्धर, भुवनकाजी मानन्धर, प्रकाश मानन्धर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सम्मानित प्रतिभाहरुलाई नगद रु पन्ध्र हजार, ताम्रपत्र र दोसल्ला प्रदान गरेर सम्मान गरिएको थियो ।

ज्ञानकाजी मोहनलाल खिं स्मृति सेवा कोषबाट पहिलो पटक गरिएको सम्मान कार्यक्रम हरेक वर्ष गर्नका लागि अक्षय कोषको स्थापना गरिएको र हरेक वर्ष इतिहास, शिक्षा र संस्कृतिको क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने कुरा ज्ञानकाजी मानन्धरको सुपुत्र प्रकाश मानन्धरले बताएका छन् ।