काठमाडौं । निबन्धकार युवराज नयाँघरेको ‘आगोको बीउ’ निबन्धसंग्रह बजारमा आएको छ । यो उनको १९औं कृति हो । यसअघि उनका ९ वटा नियात्रा संग्रह र १० वटा निबन्धका कृति प्रकाशनमा आएका छन् ।
नेपाली समाजको उपेक्षित पाटोलाई आफ्नो निबन्धको भावभूमि बनाउने नयाँघरे झर्रा, ठेट र नेपाली मौलिक चरित्र र चित्र खिच्न निकै पोख्त मानिन्न्छ ।
यसअघि २०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’मा उनले मदन पुरस्कार पाएका थिए । त्यसको करिब १५ वर्षपछि उनले आफ्नो आत्मपरक शैलीलाई अझ परिस्कार र परिमार्जनका साथ आगोको बीउ प्रकाशनमा ल्याएका छन् ।
आफूलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रुपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन् । आगोको बीउबारे उनले बताए– ‘समाजमा हरेक क्षेत्र अन्यौल, असहिष्णु र अस्तव्यस्त भएको छ । त्यसकै अन्तरमनलाई पर्गेलेर मैले यी निबन्धहरु रचना गरेको हुँ ।’
२६ वटा आत्मपरक निबन्धहरु समावेश यस संग्रहमा समालोचक कुमारी लामाले भनेकी छिन्– ‘नयाँघरे नेपाली निबन्धलाई एउटा शालिन र उचाइ दिने बलियो निबन्धकार हुन् ।’
निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान र चरित्र बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । प्रकाशनले भनेको छ– ‘नयाँघरे पाठकले रुचाइएका र अधिक खोजी गरिने निबन्धकार हुन् । उनी भाषाको नयाँ चमक र समाज, संस्कृति चिनाउने सधैँ उद्यत निबन्धकारका रुपमा स्थापित छन् ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।