कवि श्यामदास वैष्णवको जीवनी–पुस्तक हो ‘गणेशकवि श्यामदास वैष्णव’ । साहित्यकार नरेन्द्रराज प्रसाईले लेखेको यो पुस्तकमा वैष्णवको जन्म र पूर्वकथादेखि जीवनको अन्त्यसम्मका कथाहरू समेटिएको छु । वैष्णवको बालकृष्ण समय, लक्ष्मीप्रसाद देवकोटा, पारिजात लगायतका साहित्यकारसँगका महत्त्वपूर्ण प्रसङ्गहरू पुस्तकमा रोचक तवरले प्रस्तुत गरिएको छ ।

‘श्यमदास वैष्णव नेपाली साहित्यका खम्बा थिए । उनलाई देवदूत भन्छु म । उनैका कारण समेत जोडिएपछि देवकोटालाई महाकवि बन्न सहज भयो ।’, पुस्तकमा साहित्यकार पुष्कर लोहनी लेख्छन्, ‘सिद्धिचरणलाई युगकविको प्रस्तावना गर्ने नै वैष्णव थिए । विजय मल्ल र गोविन्द गोठालेलाई उकास्ने हेतु वैष्णवले ज्यानै सुम्पेका थिए । वैष्णवले नै पारिजातदेखि वानीरा गिरीसम्मलाई उठाने काम गरे । वैष्णवले ककसका लागि के के गरेनन् ? तर उनका लागि नइबाहेक ककसले के के गरे ? वैष्णव बाँचेका बखत पनि उनलाई नरेन्द्रराज प्रसाईले यथेष्ट मद्धत गरे, त्यसपछि पनि वैष्णवको जीवनी लेखेर अर्को महान् काम गर्ने प्रसाई नै हुन् ।’

त्यस्तै, लेखकीय प्रसाई लेख्छन्, ‘श्याम दाइका धेरै गुण थिए । उनी सय वर्षीय हाराहारीको उमेरमा पनि पचास वर्षीय तन्नेरीझैं हुन खोज्थे । ज्यादै जोसिलो, फूर्तिलो र जाँगरिलो भएर उनी सधैं हिंडिरहेका हुन्थे । … । महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि लामो जीवन बाँचेको भए नेपालको परिप्रेक्ष्यमा सायद उनी पनि श्यामदास वैष्णव भएर नै समाप्त हुन्थे ।’

पुस्तकलाई नई प्रकाशनले प्रकाशित गरेको हो । १ सय ३० पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।