काठमाडौंं । फित्कौली डटकम सञ्चालनको एघारौं वर्ष र अनलाइन पत्रिकाको तेस्रो वर्ष प्रवेशका अवसरमा आयोजित फित्कौलीको खित्कौली सभा – ३ सम्पन्न भएको छ ।
थापागाउँ स्थिति नेपाल माउन्टेन एकेडेमीको सभाकक्षमा आयोजित सभाको कार्यक्रममा फित्कौली डटकमा प्रधान सम्पादक नरनाथ लुइँटेललको सभाध्यक्षता र प्रा.डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
सो सभामा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, हास्यव्यङ्ग्यकारहरू नरेन्द्रराज पौडेल, मुकुन्द आचार्य, भाउपन्थीलगायत विशिष्ट अतिथि रहनुभएको थियो भने लक्ष्मण गाम्नागे, डा. रमेश शुभेच्छु, लता केसी, जनक चालिसे, पीपी कोइराला, शिवप्रसाद जैशी, हरिकला उप्रेतीलगायत अतिथि हुनुहुन्थ्यो ।
वर्षभरि फित्कौलीमा प्रकाशित कार्टुनिस्ट राजेश मानन्धरका कार्टुनहरूमध्ये सयवटा उत्कृष्ट कार्टुनहरूको प्रदशनी गाम्नागेले कार्टुन नै कोरेर उद्घाटन गरेपछि मुख्य सभाकक्षमा डा. गोविन्दराज भट्टराईले रिमोट थिचेर खित्कौली सभाको समुद्घाटन गर्नुभएको थियो ।
त्यसको लगत्तै नरनाथ लुइँटेलले फित्कौलीले हास्यव्यङ्ग्यमा के कसरी हस्तक्षेप गरिरहेको छ भन्ने कुरा बताउँदै असीको दशकलाई हास्यव्यङ्ग्यको पुनरजागरण दशक बनाउन फित्कौली लागिपरेको बताउनु भयो ।
कार्यक्रमको पहिलोे चरण सम्मान तथा पुरस्कार समर्पण तर्फ केन्द्रित रहेको थियो । कार्यक्रममा फित्कौली अक्षयकोषबाट वार्षिक रूपमा प्रदान गरिँदै आएका सम्मान र पुरस्कारहरूद्वारा सम्मानित तथा पुरस्कृत आधा दर्जन हास्यव्यङ्ग्यकारको संक्षिप्त परिचर्चा लक्ष्मण गाम्नागेले गर्नु भएको थियो ।
त्यसपछि क्रमश काठमाडौंका चट्याङ मास्टरलाई ‘बुढ्यौली विषयका भीष्मपितामह’का रूपमा सम्मानित गरियो भने मकवानपुर निवासी हास्यव्यङ्ग्यकार आर.सी. रिजाललाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान अर्पण गरियो । सम्मान अन्तर्गत नगद रु. २०१०५। को थैलीसहित सम्मान पत्र रहेको छ ।
त्यसै गरी सर्लाही निवासी महेश थापालाई गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार, सर्लाहीका महेश थापालाई गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार, सुभाषचन्द्र देवकोटा (गोरखा)लाई फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य कविता पुरस्कार, सिन्धुपाल्चोकका देवीप्रसाद चापागाईंलाई फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार र इलामका दीनानाथ पोख्रेललाई मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली कविता पुरस्कार अर्पण गरिएको थियो । जनही नगद रु.१५१०५को थैलीसहित सम्मानपत्र र ढाका टोपी अर्पण गरियो ।
कार्यक्रमको अर्काचरणमा फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित ८ जना स्रष्टाका ८ वटा हास्यव्यङ्ग्य कृति र एउटा बुुढ्यौली विषयको कृति लोकार्पण गरिएको थियो । प्रमुख आमन्त्रित भट्टराईद्वारा डिजिटल प्रविधिबाट रिमोट थिचेर चलचित्रात्मक शैलीमा गरिएको ९ वटै कृतिहरूको लोकार्पणलाई दर्शक तथा स्रोताहरूले नवीन र नौलो मानेका थिए ।
यसरी लोकार्पण गरिएका कृतिहरूमा चिरञ्जीवी दाहालकोे हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘बाघेझापु’, राजेन्द्र कार्कीको खाइराइड (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह) दोस्रो संस्करण, अशोकुमार शिवाको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘ऐनाको मान्छे, खगेन्द्र नेउपानेको व्यङ्ग्य कवितासङ्ग्रह ‘पाक्कपुक्क’, साधुराम खड्काको व्यङ्ग्य कवितासङ्ग्रह ‘अब बाँकी के नै रहयो र ?’ राजेश मानन्धरको कार्टुनसङ्ग्रह ‘फित्कौली कार्टुन- २०८१’, वृद्धाकाश बुढ्यौली विषयमा लेखिएको संयुक्त लघुकथासङग्रह (सम्पादक पी.पी.) कोइराला) र फित्कौली द्वैमासिकको ४२ औँ अङ्क रहेका छन् ।
लोकार्पित नौवटै कृतिको कृतिचर्चा गर्दै डा. रमेश शुभेच्छुले एकैपटक यति धेरै हास्यव्यङ्ग्य कृतिको प्रकाशन र लोकार्पणको जोग जुटाउने फित्कौलीले उपद्रै गर्न थालेको बताउनु भयो ।
सम्मानित र पुरस्कृतहरूका तर्फबाट संक्षिप्त मन्तव्य दिँदै चट्याङ मास्टर र आरसी रिजालले र कृति लोर्कािर्पत स्रष्टाहरूका तर्फबाट भीम गौतमले कृतज्ञता जाहेर गर्नु भएको थियो भने रोचक घिमिरेले सम्मानित पुरस्कृत स्रष्टा र लोकार्पित कृतिका स्रष्टाहरुलाई बधाइ एवम शुकामना व्यक्त गर्नु भएको थियो ।
प्रमुख आमन्त्रित डा. गोविन्दराज भट्टराई नेपाली हास्यव्यङ्ग्यलाई नयाँ उचाइमा पुर्याउन फित्कौलीले अगुवाइ गरेको यो अभियानलाई हामी सबैले सघाउनु पर्ने बताउनु भयो ।
कार्यक्रमकाे अन्त्यतिर फित्कौलीका यस्तो गजबको कार्यक्रम आयोजना गरेको फित्कौलीका सञ्चालक लुइँटेललाई ‘लौ खा’ भन्दै कवि डिल्लीप्रसाद मुलतिहुनले दुई थान लौका पुरस्कार प्रदान गर्दा दर्शकदीर्घामा हाँसोको फोहरै छुटेको थियो ।
हास्यव्यङ्ग्य प्रेमीहरूकाे बाक्लाे सहभागिता रहेकाे कार्यक्रमलाइ सरोज घिमिरेद्वारा मनोरञ्जनात्मक ढङ्गले सहजीकरण गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।