सिर्जना अभियान समाजद्वारा आयोजित लघुकथा सर्जक र संवाद अन्तर्गत संगोष्ठीमा स्रष्टाहरूले लघुकथाका विभिन्न पक्षहरूमाथि परिचर्चा गरेका छन् । स्रष्टाहरूले लघुकथा लेखनमा आफ्नो प्रवेश र पृष्ठभूमि, नेपाली लघुकथा लेखनमा आएको व्याप्ति, कृतिचर्चाको अभाव, लेखनको चुनौति र विविध समस्याका बारेमा खुलेर चर्चा गरेका हुन् ।
स्रष्टा ध्रुव मधिकर्मीले सानो आकारमा भन्दा छोटो आयाममा लघुकथा सिर्जिन हुनुपर्ने भन्दै यससित सम्बद्ध संस्थाहरूबीच विवाद होइन सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
स्रष्टा आरआर चौलागाईंले जेजस्ता प्रयोग र शैलीमा लेखे पनि त्यस्मा प्रभावकारिता हुनुपर्ने बताउनुभयो भने स्रष्टा रासाले सिद्धान्तपछि आएकाले संवाद मात्र र विना संवादबाट पनि लघुकथा लेख्न सकिने बताउनुभयो ।
स्रष्टा मनीषकुमार शर्माले लघुकथामा गणितीय विषय तथा शीर्षकमा अप्रचलित तर नयाँ शब्द निर्माणलाई ध्यान दिइएको बताउनुभयो भने डा. हिमलाल श्रेष्ठले पर्यावरणजस्ता नयाँ क्षेत्रलाई पनि लघुकथामा ल्याउनुपर्ने बताउनुभयो ।
स्रष्टा नवराज शर्माले सामाजिक सञ्जालको प्रयोगले लघुकथामा विविधता आएको र यसले धेरै स्रष्टाहरू प्रकाशमा ल्याएको बताउनुभयो भने स्रष्टा श्यामप्रसाद श्रेष्ठले नाटक र कथाको माध्यमबाट साहित्यमा प्रवेश गरे पनि पछिल्लो समय लघुकथाप्रति आकर्षित भएको बताउनुभयो ।
स्रष्टा हरिगोविन्द भोमीले लघुकथामा नयाँपनका लागि प्रयास भइरहनुपर्छ भन्नुभयो ।
सिर्जना अभियान समाजले केही समयदेखि स्रष्टाहरूको भेला गरेर साहित्यका विविध विधामाथि परिचर्चा र संवाद कार्यक्रम गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।