पोखरा । कवि चैतन्य अधिकारीले कवितासङ्ग्रह ‘जुद्ध शमशेरका नाममा’ शनिबार पोखरामा लोकार्पण भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरेका हुन् ।

कवि चैतन्य अधिकारीले एक दशकपछि आफ्नो कविताको दोस्रो कृति ल्याएका हुन् । यस अघि उनको ‘झरीको किनार’ कवितासङ्ग्रह प्रकाशित छ ।

कवितासङ्ग्रह लोकार्पणपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पचासकै दशकदेखि कविका रूपमा चैतन्य सुनेको स्मरण गरे । साहित्यकार सरुभक्तले कवि अधिकारी समकालीन पोखरेली कविताका एक उदयीमान र प्रतिभासम्पन्न कवि भएको बताए । उनले भने,’ गहन काव्यचेत, कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबी हो । समग्रमा उज्यालो अँध्यारोको दार्शनिक दोछायाँमा कविताले चैतन्यको यात्रा थालेको र यो कवितायात्रा आफ्नै निजत्वले अगाडि बढेको छ ।’

तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनुपर्ने बताए । उनले भने, ‘कवितामा तान र बान मिलेको हुनुपर्छ । कविताको कुनै आकार हुँदैन, कवि चैतन्यका कवितामा पनि आकारको बन्देज छैन । सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो । तथापि सहजकर्म भने हुँदै होइन । कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कवि हुन् अधिकारी ।’

कविता के हो ? किन लेखिन्छ र कविताले के दिन्छ ? भन्ने प्रश्नको उत्तर नभए पनि आफू बाँचेको आभाष दिन पनि कविता लेख्ने गरेको कवि अधिकारीले बताए । सूत्रमा लेखिन्छ भन्ने अभिव्यक्ति सुन्दै आए पनि आफू अचेल छोटा कवितामा रमाउन थालेको बताए ।

शेखर पराजुलीले स्रष्टा चिनारी राख्दै कवि चैतन्यलाई एकै पटक तीनवटा डुङ्गामा खुट्टा राख्नसक्ने खुबी भएको जिकिर गरे ।

कृति समीक्षा गर्दै समालोचक सन्जीव पौडेलले चैतन्यलाई समसामयिक विषय चेतमा कलम चलाउन र आफू छद्म रहेर समाजमा विद्रोह गर्न कविता नै पढ्न उक्साउने स्रष्टाका रूपमा पाएको बताए ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संस्थाका पूर्व अध्यक्ष कवि एवम् उपन्यासकार सरस्वती प्रतीक्षा, कौशल चन्द्र जि.सी., रीता अधिकारी ऋतु, शिव त्रिपाठीलगायतले बोलेका थिए ।