आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। आनन्द भवन‚ आनन्दआश्रम फापरथुम, स्याङ्जामा सम्पन्न प्रतियोगितामा एघार प्रतियोगी समूहहरू सहभागी थिए ।

आयोजक संस्थाका अध्यक्ष ई. ओमनारायण शर्माको सभापतित्वमा सञ्चालित उक्त कार्यक्ममा प्रमुख अतिथि आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापा हुनुहुन्थ्यो । उहाँले आनन्दआश्रम ज्ञान केन्द्रका योगदानहरूका सम्बन्धमा चर्चा गर्दै यही विषयमा आफैंद्वारा लेखिएको तीज गीत गाएर कार्यक्रमको उद्धाटन गर्नुभयो ।

आनन्दआश्रम ज्ञान केन्द्रद्वारा आयोजना हुँदै आएका साहित्यक तथा वैचारिक गोष्ठीको १९ औं श्रृङ्ग्खलामा आयोजित यो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपसचिव कृष्ण खड्काले दिनुभएको थियो । आँधीखोला गाउँपालिका ६ का वडाध्यक्ष नवीन ढकाल स्थापित शैक्षिक व्यक्तित्व टीकाराम ढकालकाकाले आनन्दआश्रम र पण्डित आनन्दमणिको शिक्षा र ज्ञानका विकासका निम्ति गरेको योगदानको परिचर्चा गर्दै शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरूले पण्डित आनन्दमणिले आधा शताब्दिसम्म गुरुकुल सञ्चालन गरेर दशौं हजार शिक्षार्थीहरूलाई ज्ञानी र विद्वान् बनाउनुभएको कुरामा चर्चा गर्नुभएको थियो ।

गोलाप्रथाद्वारा प्रस्तुतिक्रम निर्धारण गरेपछि मञ्चबाट प्रतियोगि गीतहरू प्रस्तुत हुन थालेका थिए । भगवती मावि छात्रा समूह निबुवाबोट‚ ढाँडखेतको आमासमूह‚ समाजकल्याण आमासमूह फापरथुम‚ पातीखोला आमासमूह‚ समाजसुधार आमासमूह पुवनपा १४ सतौँ ठुलोपँधेरा‚ प्रगतिशील आमासमूह आमडाँडा‚ पूर्वविद्यार्थी छात्रा समूह शारदामन्दिर मावि टिकाजा‚ चण्डिमाई आमासमूह टिकाजा‚ टारी आमासमूह टिकाजा‚ शारदामन्दिर मावि विद्यार्थी क्लब छात्रासमूह‚ माथिबारी आमासमूह फापरथुमहरूले सहभागी हुने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

गायक‚ नर्तक‚ वाद्यवादक र श्रोताको सङ्ख्या उल्लेखनीय थियो । हल र बराण्डामा खचाखच आगन्तुकहरू थिए । सङ्ख्यामा भन्ने हो भने २५० जनाको उपस्थिति थियो । प्रतियोगिता समाप्त भएपछि पनि तीज गीत र नाचले राति बाह्र बजेसम्म हल घन्किरहेको थियो ।

मूल्याङ्कनका निम्ति कृष्ण खड्का‚ देवी ढकाल र विष्णु पौडेलका बीचमा एउटा छानविन समिति बनाइएको थियो । त्यसले योग्यताका साथ प्राप्त जिम्मेवारी बहन गरेको महसुस भएको थियो ।

प्रतियोगितामा समाज सुधार आमा समूह पुवनपा १४ सतौँ ठुलोपँधेरा प्रथम भएको थियो । यसलाई संस्थाले पाँच हजार रुपयाँ नगदसहित सम्मान गरेको थियो । द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो शारदामन्दिर मावि पूर्व विद्यार्थी छात्रा समूह टिकाजा । यसलाई चार हजार रुपयाँ नगदसहित सम्मान गरिएको थियो । भगवती मावि निबुवाबोटको छात्रा समूह तृतीय हुन सफल भएको थियो । उसलाई तीन हजार नगदसहित सम्मान गरिएको थियो ।

गोष्ठीमा शान्त्वना पुरस्कारको पनि व्यवस्था थियो । यो प्राप्त गर्न सफल भएको थियो ढाँडखेत आमा समूह । एकहजार रूपयाँ नगदसहित सम्मान भएको थियो ।

गोष्ठीले उत्कृष्ट नर्तक समूहलाई पनि सम्मान गर्ने व्यवस्था गरेको थियो । उत्कृष्ट नर्तक समूहमा शारदामन्दिर मावि विद्यार्थी क्लब छात्रासमूह प्रमाणित भएको थियो । त्यसलाई एकहजार रुपयाँसहित सम्मान गरियो । बाँकी सहभागी सम्पूर्ण समूहहरूको पाँच पाँच सय रुपयाँ नगद सहित सम्मान भएको थियो ।

सबैजसो गीतको भाव अग्रगामी थियो । आनन्दआश्रम ज्ञान केन्द्र र पण्डित आनन्दमणिद्वारा ज्ञान आर्जनमा दिएको योगदान‚ नारी उत्थान‚ सामाजिक बिकृतिको विरोध‚ समाजमा विकास जस्ता विषयहरू समावेश थिए गीतमा ।

कार्यक्रमको अन्तिमतिर आनन्दआश्रमका संस्थापक संरक्षक त्रिलोचन ढकालद्वारा गायक‚ नर्तक र श्रोताहरू सम्पूर्णलाई धन्यवाद प्रदान गर्नु भएको थियो । सञ्चालन गर्ने काम संस्थाका सचिव दोलराज ढकालले गर्नु भएको थियो । कार्यक्रमका सभापति ई ओमनारायणशर्माद्वारा सारगर्मित मन्तव्य सहित समापन भएको थियो ।