‘विश्वासको प्रतीक तिमी
इमान र निष्ठाको प्रतीक पनि तिमी
प्रेम र समर्पणको प्रतीक तिमी
साथ, साथी र सत्यको प्रतीक पनि तिमी
अरूले तिमीलाई कुकुर भने पनि
मेरो चैं हृदयको ढुकुर हौ तिमी

तिम्रो समर्पण र निष्ठालाई देख्दा
यो घोर कलियुगमा पनि
सत्यको आभास हुन्छ ।
(हृदयको ढुकुर, पृ. ९)

कवि दिलीप श्रेष्ठको लघुकविताहरूको सङ्ग्रह हो ‘नबनाएको घर’ । कवितारूमा कोमल शब्द, सरल बिम्वका माध्यमबाट पृथक् अनुभूति प्रस्तुत गर्न खप्पिस देखिन्छन् कवि श्रेष्ठ । विचार र अनुभूतिको समीश्रणमा मानवीय भावना र संवेदनालाई प्रकट गर्नु उनको विशेषता रहेको देखिन्छ ।’

‘लघुकविता सङ्ग्रह ‘नबनाएको घर’ कवि दिलीप श्रेष्ठको छोटो कविताप्रतिको मोह र अभियान हो ।’, पुस्तकका बारेमा चूडामणि रेग्मी लेख्छन्, ‘दिनानुदिन बढ्दै गइरहेको भ्याइनभ्याईको जीवनशैलीमा लघुकविताको महत्त्व निक्कै बढ्ने अनुमान लगाउन सकिन्छ । यहाँ सङ्ग्रहित लघुकविताहरू पढ्न लायक छन् । यस्ता कविताले पाठक रमाउने विश्वास व्यक्त गर्दै कवि दिलीप श्रेष्ठप्रति हार्दिक हर्कबढाइँ ।’

त्यस्तै, पुस्तकको भूमिकामा समीक्षक महेश पौड्याल लेख्छन्, ‘कवि दिलीप श्रेष्ठलाई पढ्नु सरलतासँगै सघनतालाई पढ्नु हो । सूक्ष्मतासँगै व्यापकतामा फैलिनु हो । शब्दको मितव्ययितासँगै अर्थको निस्सीमतातिर लम्किनु हो । लोक तथा आम मान्छेको भाष्यसँगै गहन दार्शनिक उक्तिसँग साक्षात्कार गर्नु हो । सारमा, उनको काव्यजगत् भनेको सरलताको आवरणमा उभिएको एउटा निकै जटिल र गहिरो भावसरोवर हो ।’

पुस्तकलाई साहित्यिक पत्रकार सङ्घले प्रकाशनमा ल्याएको हो । १ सय २ थान कविता सङ्ग्रहित पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।