कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरूमध्येबाट एक कृतिलाई प्रदान गर्दै आएको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८०’ का लागि कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरेका छ ।
निर्णायक मण्डलको मतअनुसार यस कृतिले अनेक मत र विश्वासहरूमा विभक्त मानव समाज क्रमिक रूपले विग्रहतिर उन्मुख हुँदै गएको आजको सन्दर्भमा मनवाताको सार मूलतः एक रहेको, र विश्वास, मत र पन्थहरूको पनि मूल एक रहेको तर्क गर्दे मानव समाजमा समभाव, परानुभूति र ऐक्य स्थापना गर्ने सार्थक प्रयास गरेको छ, र यस प्रयासलाई अति परिस्कृत र बोधगम्य भाषा र ढाँचामा प्रस्तुत गरेको छ । कृतिले पूर्वीय सभ्यताले प्रतिपादन गरेको अद्वैत सिद्धान्तलाई विभाजित विश्वलाई जोड्ने कडीको रूपमा पनि पहिचान गरेको छ ।
पुरस्कारमा रु १, २५, ००० (अक्षरोपी एक लाख पच्चीस हजार रुपैया मात्र) तथा कदरपत्र रहेको छ ।
पुरस्कृत पुस्तकका रचयिता आख्यानकार गौतमलाई हार्दिक बधाई । २०८१ को तिहारपछि उपयुक्त मिति तथा स्थानमा पुरस्कार अर्पण कार्यक्रमको आयोजना गरिने छ ।
स्मरण रहोस्, कविडाँडा साहित्य समाजले सुरुमा उत्कृष्ट १० कृतिको लामो सूची र पछि उत्कृष्ट ५ कृतिको छोटो सूची सार्वजनिक गरेको थियो । उत्कृष्ट पाँचमा पर्ने अन्य कृतिहरूमा सानु शर्माको कथा-सङ्ग्रह ‘अर्को देशमा’, विश्व कुइँकेलको उपन्यास ‘गोपिचा’, गोविन्दप्रसाद कुसुमको उपन्यास ‘भृकुटी’ तथा रोशन थापा ‘नीरव’ को उपन्यास ‘सन्त्रासका साठी दिन’ सामेल थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।