राजेशमान के.सी. । विश्व पुस्तकालय दिवसको अवसरमा टोखा नगरपालिका एवं जालपा पुस्तकालयद्वारा संयुक्त रूपमा आयोजित अन्तर विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
टोखा नगरपालिका अवस्थित विभिन्न विद्यालयका कक्षा ६ देखि १२ सम्मका गरी करीब २० जना छात्र–छात्राहरू सहभागी रहेको उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी रहनुभएको थियो ।
प्रतियोगितामा विजयी छात्र–छात्राहरूमा तिलङ्गेटार मा.वि. कक्षा १० मा अध्ययनरत छात्र मोहित वाग्ले सर्वोत्कृष्ट; निर्मल वाटिका एकेडेमी कक्षा ९ मा अध्ययनरत छात्रा आश्विनी भण्डारी प्रथम; फ्लोरोसेन्ट मा.वि.कक्षा १० मा अध्ययनरत छात्रा स्वस्तिका सिलवाल द्वितीय, तिलङ्गेटार मा.वि. कक्षा १२ मा अध्ययनरत छात्रा प्रतिभा दाहाल तृतीय तथा ज्ञान संस्कार मा.वि. कक्षा ८ मा अध्ययनरत छात्रा सान्भी खनालले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।
पुरस्कृत छात्रछात्राहरुलाई मेयर अधिकारीले नगद तथा पुस्तकहरू पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार वितरणपछि नगर प्रमुख अधिकारीले मन्तव्य राख्नु हुँदै टोखा नगरको समग्र विकासका लागि भौतिक निर्माणको साथसाथै साहित्य, संस्कृति र सम्पदाको संरक्षण सम्वर्धनमा पनि यथोचित ध्यान पुर्याउँदै आइरहेको धारणा व्यक्त गर्नुभयो ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूको निष्पक्ष छनौटका लागि नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतम, नेपाल प्रज्ञा प्रतिष्ठानमा सेवारत साहित्यकार राधा दुलाल कार्की र नास्टका सेवा निवृत्त वरिष्ठ प्रवर्धन अधिकृत एवं साहित्यकार राजेशमान के.सी. सम्मिलित एक मूल्याङ्कन समिति पनि गठन गरिएको थियो ।
साहित्यकार घन थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागी डा. शैलेन्दु प्रकाश नेपाल, डा. मेघराज ढकाल, रेणु अधिकारी ‘मौनता’, पवित्रा आचार्य, दिपक बानिया, अर्जुन बाबु तिवारी, देवराज सिंखडा, मेघराज गौतम, बेनीबहादुर थापा, रमिता थापा लगायतका साहित्यकारहरूले पुस्तकालयको महत्त्व र अन्य समसामयिक विषयवस्तुमा केन्द्रित रही रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सभापति एवं जालपा पुस्तकालयका अध्यक्ष नरबहादुर बि.सी.ले आफ्नो संक्षिप्त मन्तव्यसहित सहभागी सबै प्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।