यज्ञराज जोशी । साहित्यको कुनै भूगोल हुँदैन। विश्व मानचित्रमा जहाँ सुकै यसका जरा फैलिन सक्छन्। साहित्य जुन माटोमा पनि झाँगिन सक्छ। त्यसैले त एउटा भाषामा लेखिएको साहित्य अर्को भाषामा अनुवाद भएर विश्वका कुना काप्चामा अध्ययन भइरहेको हुन्छ। साहित्यले शब्द बान्किमा विभिन्न पाटाको सूक्ष्म र विश्लेषणात्मक चर्चा गर्दै मानव हृदयमा गडिएर बस्न सक्ने सामर्थ्य राख्दछ। चर्चा गरौं, हङकङमा झाँगिएको नेपाली साहित्यको। त्यहाँ रहेका नेपालीले नेपाली साहित्यलाई फराकिलो बनाउँदै गएका छन्।

नेपाल-हङकङ सम्बन्धकै चर्चा गर्दा पनि निकै पुरानो बन्धुत्व पाइन्छ। सन् १८४१ देखि १९९७ सम्म बेलायतको अधीनमा रहेको हङकङमा सबैभन्दा पहिला बेलायती सेनामा कार्यरत गोर्खाका रूपमा नेपालीको प्रवेश भएको थियो। सन् १९९७ मा हङकङ चीनलाई सुम्पनुपर्ने भएपछि बेलायतले १९८३ पछाडि यहाँ जन्मिएका गोर्खाका सन्तानले स्थायी बसोबास गर्न पाउने प्रावधान ल्यायो। १९९४ मा नियम लागू भएपछि नेपालीको हङकङ प्रवेश बाक्लिएको थियो। त्यस यता हङकङमा ठूलो संख्यामा नेपाली रहेका छन्। हाल हङकङमा ४५ हजार हाराहारी नेपाली छन्। तिनैमध्येका एक हुन्, दाजु गुरुङ।

दाजु कुशल लेखक हुन्। ‘टाँकीका फूलहरू’ उनको लोकप्रिय कथा सङ्ग्रह हो। यसको तेस्रो संस्करण बजारमा आइसकेको छ। यस्तै उनका लाइसी र निरज्वया उपन्यास प्रकाशित छन्। एउटा उपन्यास र नियात्रा प्रकाशन तयारीमा छ। दाजुलगायत हङकङमा रहेका थुप्रै नेपालीले साहित्यको विकासका लागि विभिन्न काम गरिरहेका छन्। १२ वर्षदेखि निरन्तर हङकङ साहित्य साझा श्रृंखला चलाइरहेका छन्। त्यसले हङकङमा साहित्यको विकासमा ठूलो टेवा पुर्‍याएको छ।

‘१२ वर्षदेखि हामीले प्रत्येक महिनाको अन्तिम आइतबार साहित्य साझा श्रृंखला चलाउँदै आएका छौं। १३५ श्रृंखला सञ्चालन गरिसक्यौं। हामी भावनात्मक रूपमा हङकङमा साहित्य विकासमा सक्रिय छौं। यो हाम्रो अथक सक्रियता हो। जसले निरन्तरता पाइरहने छ,’ उनले भने। सुरुमा एक जना संयोजकले कार्यक्रमको संयोजन गर्नेमा श्रृंखलाप्रति आकर्षण बढ्दै जाँदा अहिले संयोजक र सहसंयोजकको व्यवस्था गरिएको उनले बताए। आफूसहित चार जना संरक्षक रहेको उनको भनाइ छ।

कानुनी रूपमा त्यहाँ साहित्यिक संस्था दर्ता गरेर सञ्चालन गर्न झन्झटिलो छ। त्यसैले दाजुलगायत नेपालीका हृदयमा साहित्य प्रेम थियो। र, त्यही प्रेम भावले साझा श्रृंखलाको कसिलो साहित्यिक गाँठोमा गठिएका छन्, लेखक। उनले प्रत्येक दुई वर्षमा संयोजक र सहसंयोजक परिवर्तन गरिँदै आएको बताए। पहिले धेरै साहित्यिक संघ/संस्था रहे पनि दीर्घकालसम्म टिक्न नसकेको दाजुको भनाइ छ।

दाजुलाई साहित्यकार कुनै राजनीतिक आस्था, क्षेत्र वा भूगोलले विभाजित हुनुहुँदैन भन्ने लाग्छ। उनी आफू पनि त्यसरी विभाजित हुन चाहँदैनन्। राजनीतिक आस्था, क्षेत्र र भूगोल विभिन्न साहित्यिक संघ/संस्थामा हाबी हुँदा हङकङमा त्यस्ता संस्था दीर्घकालीन हुन नसकेको उनको बुझाइ छ।

‘साझा श्रृंखलामा केवल साहित्य मन बोकेर मात्र हामी प्रवेश गर्छौं। त्यसैले १२ वर्षदेखि विवादरहित छ। बरु हामीले यसको क्षेत्र विस्तार गर्दै लगेका छौं। त्यसैको निरन्तरता स्वरूप साझा श्रृंखलाले नेपाली बागमय क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाका लागि भन्दै ५५ हजार ५ सय ५५ राशिको पुरस्कार घोषणा गरेको छ। यो हङकङ बाहिर रहेर साहित्य सिर्जनामा सक्रिय श्रष्टालाई प्रदान गरिने छ,’ उनले भने। उनले साझा श्रृंखलाप्रतिको आकर्षण देश बाहिर पनि बढाउने आफूहरूको विश्वास रहेको बताए।

तीन महिना अघिदेखि नै आफूहरूले पुरस्कार स्थापनाका लागि बहस गरे पनि बल्ल सफल भएको दाजुले बताए। फन्ड कलेक्सन गरेर जम्मा गरिएको रकमको व्याजबाट प्रत्येक वर्ष एक जनालाई पुरस्कार प्रदान गरिने र त्यसका लागि कार्यविधि बनाइएको उनको भनाइ छ। ‘श्रृंखलाप्रतिको आकर्षण बढ्दै गएको छ। चार/पाँच कृति प्रत्येक महिनाको श्रृंखलामा विमोचनका लागि आउने गरेका छन्। कतिपय कृति त नेपालबाटै विमोचनका लागि आउने गर्छन्,’ उनले भने।

प्रवासमा यसरी नेपाली साहित्यको विकासमा सक्रिय रहे पनि नेपालबाट कुनै सहयोग नपाइएको दाजुको दुखेसो छ। ‘हामीले आर्थिक सहयोगको अपेक्षा गरेका होइनौं, भावनात्मक सामीप्य चाहेका छौं। त्यो सरकार, नेपालका श्रष्टा र संघ/संस्था कतैबाट पाउन सकिएको छैन,’ उनले भने।

उनले एउटा कथा सङ्ग्रहको कार्यक्रमका लागि नेपाल आउँदा साहित्यकारबीचमा ठूलो गुटबन्दी पाएको तितो अनुभव सुनाए। ‘कहाँको मान्छे हो, कुन लविबाट आएको हो जस्ता विभिन्न ढंगले हेरिँदो रहेछ। हामी भने नेपाली साहित्यलाई मात्र हेर्छौं, भूगोल र अन्य कुनै गुट/उपगुट हेर्दैनौं,’ उनले भने।

उनले नेपालमा रहेका लेखकहरूले प्रवासमा रहेका साहित्यकारहरूलाई स्तरहीन देख्ने गरेको बताए। नेपाल बाहिर बस्नेहरू लेखक नै भएको र उनीहरूले केही नबुझेको नेपालमा रहेका लेखकको मनोभाव रहेको दाजुको दुखेसो छ। ‘नेपालमा हामीलाई व्यापारी दृष्टिकोणले हेर्ने गरिन्छ। प्रवासमा साहित्यको विकासका लागि हामीले पुर्‍याएको योगदानको कुनै लेखाजोखा नै हुँदैन। तर, हामी विशुद्ध साहित्यिक भावनाले अगाडि बढिरहेका हुन्छौं,’ उनले भने।

नेपाली लेखकमा कताबाट बढी फाइदा हुन्छ भन्ने भावको स्वार्थ हाबी हुँदै गरेको उनको आरोप छ। बाहिरका लेखकले के लेख्छन् भन्ने भाव नेपालमा रहेका लेखकमा भए पनि आफूहरू सधैँ नयाँ रस दिन दत्तचित्त रहँदै आएको उनले बताए। उनले नेपाली लेखकले नेपाली भूगोल र वस्तुस्थिति बढी लेखे झैँ आफूहरूले पनि आफ्ना भोगाइलाई बढी प्राथमिकता दिँदै आएको र त्यो स्वाभाविक भएको दाजुको ठहर छ।

उनले नेपाली सञ्चारमाध्यमहरूले पनि आफूहरूलाई उचित स्थान नदिने गरेको गुनासो गरे। विभिन्न सरकारी सञ्चार माध्यम र साहित्यका सरकारी निकाय रहेकोमा कतै पनि उचित स्थान नपाइएको उनको भनाइ छ। ‘हामीलाई सरकारी, निजी कुनै पनि सञ्चार माध्यम र सरकारी निकायले स्थान दिएको देखिँदैन। हामीले नेपाल प्रज्ञा प्रतिष्ठानसँग प्रवासी नेपाली साहित्य हेर्ने विभागका लागि पटक/पटक आग्रह गर्यौं। कहिले सुनुवाइ भएन। निजी सञ्चार माध्यमहरूले हाम्रा रचना र कार्यक्रममा बारेमा प्रकाश पारिदिए मात्रै पनि हामीलाई ठूलो ऊर्जा प्राप्त हुने थियो,’ उनले भने।

आफूहरूका गतिविधि र योगदानबारे नेपालमा खासै चर्चा नभए पनि आफूहरूमा भने नेपाली साहित्य र नेपालका साहित्यकारप्रति उच्च सम्मान रहँदै आएको दाजुले बताए। उनले देश बाहिरका श्रष्टालाई समेटेर कुनै स्तम्भ चलाइदिएको भए त्यसबाट आफूहरूलाई लाभ हुने उनको भनाइ छ।

सन् १९९६ मा हङकङ गएका दाजुले आफू सधैँ साहित्यमा क्रियाशील रहने र नेपाली साहित्यको विस्तारमा सक्रिय भूमिका निर्वाह गरिरहने बताए। उनले आफूसँगै भयवाद अभियन्ता एवं साहित्यकार देश सुब्बा, सुनिता गिरी, पूर्णिमा जी शाह, जुनु दिव्या राना, रमण गुरुङ, डोम राना, टिवी याख्खा, देवेन्द्र खेरेस, जानु काम्वाङलगायत थुप्रै स्रष्टा हङकङमा साहित्य विकासमा सक्रिय रहेको बताए।

दाजुको पूर्ख्यौली घर नेपालको शंखुवासभा हो। उनले नेपाल आउने क्रम पनि जारी नै रहने बताएका छन्।