काठमाडौं । १५९ औं मोती जयन्तीको अवसरमा २०८१ को युवावर्ष मोती पुरस्कार’ युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई अर्पण गरिएको छ । एक समारोहबीच ४० हजार रुपैयाँको थैली र सम्मानपत्रले प्रा.डा. माधवप्रसाद पोखरेलको हातबाट उहाँलाई पुरस्कृत गरिएको हो ।

प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पुर्‍याएवापत धादिङका श्रेष्ठलाई वि.सं.२०८१ सालको पुरस्कार प्रदान गर्ने निर्णय १० दिन अघि सार्वजनिक भएको थियो ।

पुरस्कार ग्रहणसँगै पुरस्कृत श्रेष्ठले भावना र विचारमिश्रित मन्तव्य दिनुभएको छ । नेपाली बालबालिका र बालसाहित्य पहिलो प्राथमिकतामा रहनुपर्ने औंल्याउँदै परम्परागत सोचलाई परिमार्जन गर्दै ‘सानालाई आदर, ठूलालाई माया’ हुनेपर्ने धारणा राख्नुभयो ।

रङ्गमञ्चको बारेमा बोल्नुहुँदै उहाँले प्रश्न गर्नुभयो, “रंगमञ्चलाई नाटकको मात्र नभई समग्र साहित्यमा दृश्य साहित्यको रुपमा किन हाम्रा मागजहरुमा स्थापित भएका छैनन् । वर्षेनी सयौं साहित्य प्रकाशन भइराख्दा र देशमा आधा दर्जनभन्दा बढी व्यवसायिक नाटकघरहरुले नियमित नाटक मञ्चन गरिरहँदा यी दुईबीचको धागोमा कहाँ गाँठो परिरहेको छ ? साहित्यकर्मी र रंगकर्मीले यस विषयमा आफूलाई यसबारे प्रश्नहरुको क्षेप्यास्त्र प्रहार गर्न सकेको दिन सायद हाम्रो विश्वविद्यालयले नाटकलाई गरिखाने पाठ्यपुस्तकको सिमितताभन्दा फराकिलो सोच्छन् कि ?”

पुरस्कृत श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक/चलचित्र लेखन, निर्देशनमा सक्रिय छन् । साथै उहाँ समकालिन कला–साहित्य क्षेत्रमा प्रतिवद्ध युवा रङ्गकर्मी र चलचित्रकर्मीको रुपमा परिचित हुनुहुन्छ ।

कार्यक्रममा पुरस्कृत सर्जक केदार श्रेष्ठबारे राष्ट्रिय युवा सेवा कोषका सचिव डा.विष्णुबहादुर भण्डारीले प्रकाश पार्नुभएको थियो । प्रमुख अतिथि प्रा.डा माधवप्रसाद पोखरलले मोतीराम भट्टको योगदान र युवावर्ष मोती पुरस्कारको गरिमामाथि बोल्नुभएको थियो । समारोहका सभापति नेपाली शिक्षा परिषदका अध्यक्ष रमा शर्माले मोतीजयन्ती परम्परालाई ७० वर्षदेखि निरन्तरता दिइरहेको उल्लेख गर्नुभयो ।

नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा विं.सं.२०४२ मा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई नियमित प्रदान गरिदैँ आएको ‘युवावर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

मोती जयन्ती, कुशे औंशीको अवसरमा आयोजित लेखनाथ साहित्य सदनमा भएको समारोहमा यस वर्ष दिवगंत भएका लेखक, साहित्यकारहरुको समेत सम्झना गरिएको थियो । साथै मोतीराम भट्टले थालनी गरेको समस्यापूर्ति कविता लेखनलाई निरन्तरता दिंदै कवि गोष्ठी समेत गरिएको थियो ।