काठमाडौं । नेपाली आख्यानको माध्यमबाट मान्छे-मान्छे बीचको अन्तर्सम्बन्धलाई द्वन्द्वात्मक दृष्टिसहित सामाजिक सम्बन्ध स्थापनार्थ कथामा खटिरहने सिद्धहस्त कथाकार हरिहर खनालको ७९ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले धापासी, काठमाडौंस्थित कथाकारको निजी निवासमा कथाकारको कथनी श्रवण गरी मनाएका छन् ।
उक्त अवसरमा कथाकार खनालले बाल-मनोविश्लेशणात्मक, अति यथार्थ र अनुभूतिहरू मिश्रित स्वराकंन गरिएको एक आफ्नै कथा श्रवण गराउनुभएको थियो ।
कथाकारको कथनीमा सिद्धहस्त कथाकार हरिहर खनालले पारिजात र रमेश विकलको हौसला अनि समकालीन साथी ध्रुवचन्द्र गौतमहरूको साथले आफ्नो कथाकारिता र साहित्यिक समर्पणसहित कथा लेखनमा प्राप्त स्थान र पाठकहरूको मायाको फेहरिस्त सुनाउनु भयो ।
कथाकार हरिहर खनालले आफ्नो किशोरकालमा साहित्यकार तथा वाम विचारक गुरु आननदेव भट्टको प्रेरणा र प्रभावले प्रगतिशील यथार्थवादी आख्यान लेखनतर्फ हौसिएको र लेखन, अध्ययन र सम्पादनमा निरन्तर समर्पित रहेको बताउनुभयो ।
विश्व साहित्यमा पनि राम्रो रुचि राख्ने कथाकार खनाल आफ्ना पुस्ताको कथाकारहरूका अलावा अनुज पुस्ताहरूलाई पनि अध्ययन गर्न रुचाहुनु हुन्छ । ‘पत्रिकाले कुनै पनि विचारलाई रोक्न र छेक्न नहुने ।’ विचार सम्पादक हरिहर खनालको छ । उहाँले २० को दशकमानै ‘नौलो राँको’ पत्रिकाको सम्पादन गर्नुभएको थियो । लामो समयदेखि प्रकाशन रोकिएको अवस्थामा रहेको ‘गरिमा’ साहित्यिक पत्रिकालाई पुन: प्रकाशित गरी प्रकाशनमा सबै वर्गका स्रष्टाहरूलाई स्थान दिनुभएको थियो ।
अध्यापन क्षेत्रमा कार्यरत हरिहर खनालले वि.सं. २०२४ सालमा पहिलो पटक ‘जूनको प्रकाशमा सूर्यलाई निम्त्याएर’ शीर्षकको कथा प्रकाशन गरी नेपाली आख्यानमा प्रवेश गर्नुभएको थियो । पछिल्लो समय ‘हरिहर खनाल ग्रन्थावली’ भाग तीनसम्म प्रकाशन गरी आफ्ना कथाहरूलाई एकीकृत गर्नुभएको खनालको ग्रन्थावली भाग चारको अन्तिम तयारी भइरहेको छ ।
उहाँले करिव २०० मौलिक कथाहरू लेख्नुभएको छ । चुपचाप बस्न नरुचाउने हरिहर खनालले भर्खरै मात्र नेपाल प्रज्ञा प्रतिष्ठानको एक परियोजना अन्तर्गत ‘आधुनिक सौन्दर्यशास्त्रका समस्याहरू’को अनुवाद ग्रन्थको तयारी सम्पन्न गर्नुभएको छ । रुसी र चिनिया साहित्यको जगमा उभिनुभएको हरिहर खनालले मार्क्सवादी सौन्दर्यचेतबाट समाजको यथार्थलाई बिम्व र प्रतिकमा खेलाई सुन्दर आख्यान सिर्जना गर्न खप्पिस हुनुहुन्छ ।
कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ । कथाकार हरिहर खनालको जन्मोत्सव भाद्र महिनाको दोस्रो हप्तामा पर्ने गर्छ । वि.सं. २०८१ सालको वैशाख महिनाबाट आरम्भ गरिएको कथाकारको कथनीमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, हरिश कल्पित र पवित्रा अधिकारी कथा यात्रीको रूपमा रहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।