
काठमाडौं ।नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले ‘बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभएको थियो । उहाँले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर सात/आठ हजार वर्षदेखि तीज मनाउँदै आएको बताउनु भयो । पितृसत्ता विरुद्ध महिलाहरू तीज पर्वमा गीतसङ्गीतको माध्यमबाट प्रस्तुत भएर विद्रोह गर्दै आएका छन् भन्दै यसलाई नारी मुक्तिको विद्रोहसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचीव डा. धनप्रसाद सुवेदीले नारीबिच एकाआपसमा भेला भई सुखदु:ख, अभाव र उत्पीडनलाई व्यक्त गर्ने पर्व नै तज भएको बताउनु भयो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (काव्य /पद्य ) विभाग प्रमुख बाबा बस्नेतले तीज पुरातन संस्कृति र परम्परामा आधारित भए पनि समयसापेक्ष नवीनशैली देखापरेको बताउनुभएको थियो । उहाँले तीज यसरी नै मनाउनुपर्छ भन्ने कसैको अधीनमा रहेको र कुनै पनि विसङ्गतिबाट मुक्त हुँदै महिलामुक्तिका लागि तीज पर्वका गीतसङ्गीत प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा अवधारणापत्र प्रस्तोता सुधा मैनालीले “बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले तीज र तीज गीतको परिचय, स्वरूप, समावेशीकरण, समाजशास्त्रीय दृष्टिकोण र तीजको भाषिक दृष्टिकोण लगायतका विषयमा अवधारणापत्र केन्द्रित गर्नुभएको थियो ।
उक्त अवधारणा पत्रमाथि पूरक टिप्पणी राख्दै प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.डा. ज्ञानु पाण्डेले विद्यमान विश्वास र परम्पराले गाँजेको तीज पर्वलाई अब महिलाले मौलिक संस्कृतिप्रति सचेत रहँदै विद्रोही स्वर दिनुपर्ने बताउनुभएको थियो ।
अर्का पूरक टिप्पणीकार सोमप्रसाद गड्तौलाले तीज पर्वलाई राम्रोसँग बुझ्न ‘शिव महापुराण’को अध्ययन गर्नुपर्ने र तीजका नाममा देखापरेका विकृतपक्ष चिन्ताको विषय भएको बताउनुभएको थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट नाछिरिङ, प्रभा बराल, देवकी तिमल्सिना र तारा बरालले आआफ्नो जिज्ञासा राख्नुभएको थियो ।
‘योजना तथा कार्यक्रम महाशाखा’ प्रमुख लक्ष्मी गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

