काठमाडौं । हङकङ साहित्यिक साझा श्रृङ्खलाले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्यले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार’ स्थापना गरेको छ ।

हङकङबाहिर जुनसुकै भूगोलमा रहेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएका एक जना स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहने हङकङ साहित्यिक साझा श्रृङ्खलाका संयोजक रमण गुरुङले बताए ।

संरक्षक दाजु गुरुङले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला’ पुरस्कारका लागि एक अक्षयकोष स्थापना गरिएको बताए । उने भने, “अक्षय कोषबाट प्राप्त हुने ब्याजबापतको रकमबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको छ र पुरस्कार यसै वर्षदेखि सुरु गरिने छ ।”

सन् २०१२ मा हङकङमा स्थापना भएको हङकङ साहित्यिक साझा श्रृङ्खलाले नियमित रूपमा मासिक साहित्य श्रृङ्खला सञ्चालन गर्दै आएको छ भने ‘श्रृङ्खला’ नामक साहित्यिक सँगालोसमेत प्रकाशन गर्दै आएको छ ।