लालबन्दी, सर्लाही । लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१’ का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट अखण्ड भण्डारीकृत ‘बोरा’ आख्यानले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१’ हात पारेको छ ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेकाे उत्कृष्ट एक कृति ‘बोरा’ सिफारिस गरेपछि परिषद्ले एक विज्ञप्तिमार्फत आज सार्वजनिक गरेको हो ।

लालबन्दी नगर वाङ्‌मय परिषद्ले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१’ का लागि उत्कृष्ट दश कृतिहरू २०८१ साउन १३ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।

‘लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०८१’ लामो समयदेखि पत्रकारिता गर्दै आएका शङ्‌कर श्रेष्ठले पाउने भएका छन् ।

लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि रु. २५ हजार र लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१ (राष्ट्रिय) को पुरस्कार राशि रु. ५० हजार रहेको लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

पुरस्कारहरू वि.सं. २०८१ मङ्सिर १५ गते शनिवार लालबन्दीमा प्रदान गरिनेछ ।