काठमाडौं । यस वर्षको ‘युवावर्ष मोती पुरस्कार’ युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने भएको छ । बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा श्रीवृद्धिका लागि योगदान पुर्याएवापत श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।
वरिष्ठ साहित्यकार प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिस अनुसार वि.सं.२०८१ सालको पुरस्कार सर्जक केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।
नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा विं.सं.२०४२ मा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष मोती जयन्ती कुशे औंसीको दिन प्रदान गरिदैँ आएको छ ।
नियमित प्रदान गरिदैँ आएको ‘युवावर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो भने अघिल्लो वर्ष २०८० मा कवि, गीतकार तथा अनुवादक प्रमोद सारंगलाई प्रदान गरिएको थियो ।
सर्जक श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक, चलचित्र लेखन, निर्देशनमा सक्रिय छन् । साथै उहाँ समकालिन कला–साहित्य क्षोनमा प्रतिवद्ध युवा रङ्गकर्मीको रुपमा परिचित हुनुहुन्छ ।
उहाँको प्रकाशित पाँच बालपुस्तकमध्ये गुलियो स्याउ, आइसक्रिम सपना नेपाली बालसाहित्य क्षेत्रमा चर्चित छन् । उहाँको लियो टल्सटायका अनुदित बालनाटकहरु पनि प्रकाशित छ । उहाँका केही नाटकहरु र कवितासंग्रह प्रकाशोन्मुख छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।