चन्द्र मादेन आन्छन, काठमाडौं । स्थानीय पेप्सीकोला ग्लोबल पब्लिक स्कुलको सभाकक्षमा मनोहरा साहित्य समाजको ९२ औं मासिक रचनावाचन शृङ्खला सम्पन्न भएको छ ।
समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्वमा लोकवार्ता परिषद्का उपाध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेको प्रमुख आतिथ्य, सिनामङ्गल नगरसेवा समाजका अध्यक्ष विजयराज पौडेलको विशिष्ट अतिथ्य र बुढ्यौली साहित्य समाज भक्तपुरका अध्यक्ष कविराज घिमिरेको विशेष आतित्यमा सञ्चालित रचनावाचन श्रृङ्खलामा ३५ जना स्रष्टाले विभिन्न विधा र विषयका आआफ्ना रचना वाचन गर्नुभयो ।
कार्यक्रममा पाँच जना व्यक्तित्वले समाजको आजीवन सदस्यतासमेत ग्रहण गर्नुभयो । चिरञ्जीवी रेग्मी, छत्रभूषण दाहाल, गीता कार्की, जयकृष्णलाल वज्राचार्य, सरिता तिमल्सिना, कपिल अर्याल लगायतका विभिन्न साहित्यकार श्रोताहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रम संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको थियो।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति डिल्लीराज अर्यालले शिष्टताले श्रद्धावश शिर झुकाएको प्रसङ्ग उठाएको नमस्कार शीर्षकको अनुष्टुप छन्दयुक्त कविताबाट रचनावाचन शृङ्खला प्रारम्भ गर्नुभएको थियो ।
स्रष्टा पदयात्राका संयोजक तथा मनोहरा साहित्य समाजका परिकल्पनाकार शीतल गिरीले काव्यचेतनासँग सम्बन्धित संक्षिप्त मन्तव्य प्रस्तुत गर्नुभयो भने प्रमुख अतिथि प्रा.डा. ध्रुवकुमार घिमिरेले वाचन गरिएका सिर्जनामाथि संक्षिप्त र सारगर्भित टिप्पणी सहित आफ्नो मन्तव्य राख्नुभयो ।
संस्थाका उपाध्यक्ष जसध्वज गुरुङले दुई मुक्तकका फाँकीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएपश्चात सभापतिको अनुमतिले सञ्चालक भावकेशर बरालले कार्यक्रम समापन भएको जानकारी दिनुभयो । यसरी गद्य,पद्य,गीत,गजल, मुक्तक र श्लोकले कार्यक्रम भव्य र सभ्य भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।