लघुकथा विधाका स्रष्टाहरूले हिजो भक्तपुरमा आयोजित एक समारोहमा रचना वाचन, संवाद र समस्याका बारेमा परिचर्चा गरेका छन् । सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा स्रष्टाहरुले लघुकथा लेखनमा देखिएको सक्रियता, यसको व्यापकता र लेखनमा थपिएका समस्या र चुनौतीहरुका बारेमा खुलेर चर्चा गरे ।
कार्यक्रममा स्रष्टा ध्रुव मधिकर्मीले कुनै पनि विधाको सिद्धान्त पढ्नु आवश्यक छ तर स्रष्टाहरूले त्यसभित्र मात्र सीमित भएर बस्नु भन्दा नयाँ बाटो पहिल्याउने प्रयासमा अग्रसरता देखाउनुपर्छ भन्नुभयो ।
लघुकथाकार खेमराज पोखरेलले लघुकथामा बाढी आएको नभई मूल फुटेको हो भन्दै प्रकाशित कृतिहरूमाथि अध्ययन चिन्तन गरेर मात्र त्यसको बारेमा मूल्याङ्कन गर्न आग्रह गर्नुभयो ।
अर्का लघुकथाकार दिव्य गिरीले राम्रो लघुकथाको लागि महत्त्वपूर्ण विषयको छनोट र सन्देशसहितको आकर्षक शैली हुनुपर्ने बताउनुभयो ।
कथाकार आरआर चौलागाईंले लघुकथा लेखनमा कवितापछि आएको बताउँदै अब यस विधामा गम्भीरतापूर्वक लागेको बताउनुभयो ।
कथाकार हरि थापाले स्रष्टाहरूले लघुकथामा थोरै लेखेर धेरै दिनसक्ने विधा भएकाले लघुकथामा भन्न खोजिएको कुरालाई पाठकले खोज्नुपर्ने बताउनुभयो ।
लघुकथा केन्द्रका अध्यक्ष लता केसीले लघुकथालाई यो ठाउँमा ल्याइपुर्याएर स्थापित गरेका स्रष्टाहरूले पछिल्लो समयमा लघुकथा लेख्न छोडेको प्रति चिन्ता प्रकट गर्नुभयो ।
स्रष्टा सत्या अधिकारीले लघुकथामा पुस्तान्तरणको लागि संस्थाहरूले पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका संयोजक डा. हिमलाल श्रेष्ठले लघुकथाको समग्र विकासको लागि स्रष्टाहरूबीच संवादको आवश्यकता परेकोले त्यस अनुरुप कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै लघुकथाकार इन्दिरा चापागाईंले लघुकथाप्रति स्रष्टाहरूको यो अभिरुचिलाई समाजले निरन्तर सघाइरहने बताउनुभयो ।
कार्यक्रममा स्रष्टाहरू दीपक लोहनी, रमेन्द्र कोइराला, मनीषकुमार शर्मा, अञ्जु शर्मा, निर्मला बराल, रोशन पराजुली, ईश्वर पोखरेल र विवेक शर्मा गौतमले पनि जिज्ञाशाहरू राख्नुभएको थियो ।
सो अवसरमा भादगाउँ टेलिभिजनका लागि लघुकथा वाचनको छायांकन पनि गरिएको थियो । समाजको पहलमा भादगाउँ टेलिभिजनले प्रत्येक शनिबार साँझ सात बजे सिर्जना विम्ब साहित्यिक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।