भाद्र ६ देखि २९ गतेसम्म टेकुस्थित कौसी थिएटरमा आशान्त शर्माको परिकल्पन तथा निर्देशनमा नाटक ‘काँचो धागो’ मन्चन हुँदैछ । नाटक युवा रंगकर्मी मुक्तिले लेखेका हुन् ।

“कथा एक्सप्रेस”, “दरौंदीको पानी”, “ढल्केको सालैजो”, “साथी, साथी आइदेऊ न” जस्ता समसामयिक विषयमा नाटक प्रस्तुत गरिसकेको Ways Pvt. Ltd प्रस्तुति र कथा घेराको सहकार्यमा काँचो धागो नाटक मञ्चन हुँदैछ ।

नाटक मंगलबारबाहेक हरेक दिन साँझ ०५:१५ बजे र शनिवार ०१ बजे अतिरिक्त शोसहित टेकुस्थित कौशी थिएटरमा हुनेछ ।

मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोडेर नाटक काँचो धागो बनेको छ । गण्डकी क्षेत्रको कुनै गाउँमा घटेको घटना, घटनासँग सम्बन्धित मानव तथा मानवेत्तर पात्रहरूको कथा भए पनि नाटकले नेपालका अधिकांश पहाडी गाउँहरूको वर्तमान अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ । जसमा कतै न कतै हरेक नेपाली मनले आफ्नो कथा भेट्न सक्छ ।

“’साथी- साथी आइदेऊ न’ पछि लगभग २० महिना निर्देशकीय विश्राम भयो । व्यक्तिगत जीवनमा पनि थुप्रै उतारचढाव आए । अर्को मौलिक कृति लेख्न नभ्याई रहेको बेलामा मुक्तिले ‘काँचो धागो’को पहिलो ड्राफ्ट पढ्न दिए । छोयो . आकंक्षा कार्कीको नि आग्रह थियो दाजु नाटक गरौँ न ! नाटकमा संलग्न सबै कलाकार साथीहरूको उत्साह र हौसलाले बल गर्‍यो र यो नाटक तयार भएको छ ।’ निर्देशक शर्माले बताए ।

नाटकमा शैली रचनाको प्रयास रहेको शर्माले बताए।

“रङ्गमञ्चमा छिरेदेखि नै नाटक लेख्ने इच्छा जागेको हो । एक हिसाबले त्यो पूरा भएको छ तर, यो नाटक मेरो भन्दा पनि बढी कथाका पात्रहरूको लागि प्रेरणा बन्नेहरूको हो ।” लेखक मुक्तिले बताए ।

नाटकमा मुक्तिका साथै आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय रहेको छ ।