काठमाडौं । किरात वाम्बुले राई जाति, भाषा र साहित्यबारे दुई कृति सार्वजनिक भएको छ । पत्रकार तथा लेखक गणेश राईद्वारा लिखित सांस्कृतिक निबन्धसंग्रह ‘वाम्बुले योरङा सारियोम्सि’ (वाम्बुले भाषाको शिरउभौनी) र राईद्वारा सम्पादित ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेश) कवितासंग्रह रहेका छन् ।
वाम्बुले राईहरूको महान् चाड ढ्वाङकुमो (हिन्दुपात्रोअनुसार जनैपूर्णिमा) को अवसरमा उक्त कृति सार्वजनिक गरिएको हो ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिले ललितपुरको सानो हात्तीवनमा आयोजना गरेको समारोहमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, सभाध्यक्ष गजुरधन राई, राष्ट्रगानका रचयिता व्याकुल माइला, किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति अध्यक्ष जीवन हाताचो राईले उक्त कृति सार्वजनिक गरेका हुन् ।
यसैगरी, वाम्रास सुनसरीले धरानमा आयोजना गरेको ढ्वाङकुमो समारोहमा भाषाशास्त्री प्राडा टंकप्रसाद न्यौपाने, सभाध्यक्ष लाखमान राईले सोही ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेश) कविता संग्रह सार्वजनिक गरेका थिए ।
‘वाम्बुले योरङा सारियोम्सि’ (वाम्बुले भाषाको शिरउभौनी) सांस्कृतिक निबन्ध संग्रह आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशित गरेको हो । उक्त संग्रह तीन खण्डमा सामग्री समेटिएका छन् ।
पहिलो नेपाली भाषा खण्डमा ‘किरात वाम्बुले राई जाति र वाम्बुले भाषा’, ‘वाम्बुले राईको सृष्टिकथा’, ‘मुन्दुम र वाम्बुले टोप संस्कृति’, ‘वाम्बुले घरको वास्तुकला’, ‘वाम्बुले थातथलोमा मौलिक नामको पुनःस्थापना’, ‘वाम्रास संस्था सबैको हो’ शीर्षक आलेख छन् । यसैगरी ‘उज्यालो खोज्दै झाप्पागाउँ उकालो’, ‘पहाडबाट ढाकर होइन, वाम्बुले कविताको पोको झार्दा’, ‘मातृभाषा सिकाइमा दुई पुल’, ‘वाम्बुले भाषा लेखनमा देवनागरी, रोमन र किरात लिपि’, ‘वाम्बुले भाषा विकासमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको योगदान’ र ‘वाम्बुले भाषामा नाटकको इतिवृत्ति’ समेटिएका छन् ।
यसैगरी दोस्रो मातृभाषा–नेपाली खण्डमा अनुवादसहित ‘वाम्बुले राईको बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा’, ‘वाम्बुले राई भाषा र नेपाल प्रज्ञा–प्रतिष्ठान’, वाम्बुले राईको सामेत के हो ?, ‘शिरउभौनी’ र ‘किरात सिरिजङ्गा लिपिको साझा किताब’ शीर्षक आलेख रहेका छन् । तेस्रो मातृभाषा खण्डमा ‘व्याकुल माइला पाचि के पापमाइला’ (व्याकुल माइलालाई कान्छाकाका कि माइलाकाका), ‘क्याम्पा आति क्याम्पाचो’ (क्याम्पा होइन, क्याम्पाचो), वाम्बुलेल्वा थेसिस आस्याङ र्याक्चाम’ (वाम्बुलेमा थेसिस किन लेख्ने), ‘मिः न्वा काकुल्वाङ ज्वागैदुम्किमा है’ (आगो र मापनीबाट जोगिऔं है), ‘लिब्जु गाउँपालिका जिन्दावाद आदेमि’ (लिब्जु गाउँपालिका जिन्दावाद भन्दैनन्), ‘इम थोचे द्याल ल्वाङम्वाल’ (त्यो साल गाउँ जाँदा), ‘वाम्बुले राडु योरल्वा हाइकु’ (वाम्बुले राई भाषामा हाइकु), ‘परै प्वाचोः उपो, पापा, उङ्गु इल्वाङ राइचिपुस्ता’ (पढेकाः बाजे, बाबु, म अनि छोरापुस्ता), ‘यलाखोमल्वा वाम्बुले जिखिम’ (काठमाडौं उपत्यकामा वाम्बुले घर) र ‘वाम्बुले राडु, वाम्बुले योर, वाम्बुले रितुममुक्तुम’ (वाम्बुले राई, वाम्बुले भाषा, वाम्बुले रीतिमुन्दुम) शीर्षक आलेख रहेका छन् ।
यीमध्ये चारवटा निबन्ध लेखनमा किरात सिरिजङ्गा लिपिका माध्यमबाट लेखिएका छन् ।
किरात राई जातिभित्र २६ रहेका छन् । जसमा वाम्बुले भाषा बोल्ने समुदाय हो । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ वामद्याल (उँबुगाउँ) वाम्बुले राईहरूको उत्पत्ति थलो मान्दछन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको जनसंख्या १५ हजार २ सय ८५ रहेका छन् ।
वाम्बुले भाषा २०४५ सालतिरबाट लेखन आरम्भ भएको हो । २०५० सालमा ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भएपछि हालसम्म २० वटा साहित्यिक कृति तथा एउटा शब्दकोशसहित १० वटा विभिन्न विधाका किताब प्रकाशित रहेको उल्लेख छ । यसैगरी वाम्बुले भाषाका तीन गीति एल्बम, वाम्बुले सामाजिक जीवनसँग सम्बन्धित तीनवटा वृत्तचित्र, दुईवटा चलचित्र निर्माण भएको उल्लेख छ ।
यसैगरी वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २६औं वार्षिकोत्सव २०८० मंसिरमा धरानमा आयोजित २४औं वाम्बुले भाषाको कविता प्रतियोगितामा वाचित कविताहरूको सँगालो ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेश) किताब प्रकाशन गरिएको छ ।
यो संग्रहमा १७ प्रतियोगीसहित २८ वटा कविता समेटिएका छन् । यसभित्र भाषाशास्त्री टंकप्रसाद न्यौपानेले ‘वाम्बुले राईः एक विशिष्ट किराती भाषा’ शीर्षक विशेष आलेख रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।