गण्डकी साहित्य सङ्गम, पोखराको आयोजनामा यही मिति २०८१ साल भदौ ४ गतेका दिन सोही संस्थाका सचिव कथाकार नारायण मरासिनीको ‘घैंटीको मूल्य’ कथा सङ्ग्रह एक कार्यक्रमका बिच लोकार्पण भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कथा सङ्ग्रहमाथि समीक्षक रामराज रेग्मीले टिप्पणी गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सङ्गमका सल्लाहकार प्रा. रघुनाथ अधिकारी, साहित्य शृङ्खला, पोखराकी अध्यक्ष लक्ष्मी थापा, प्राध्यापक गेहेन्द्रेश्वर कोइराला, बुद्धिजीवी, लेखक तथा साहित्यकारहरु झलकपाणि तिवारी, धनबहादुर नेपाली, बाबुराम पन्त, परशुराम कोइराला, लोकबहादुर थापा मगर लगायतले केही समयदेखि यता मायस्थेनिया ग्रेविस नामको रोगबाट पीडित कथाकार मरासिनीको स्वास्थ्य लाभको कामना गर्दै कृति प्रकाशन गरेकामा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथि प्राज्ञ डा. कृष्णराज अधिकारीले कथाकार मरासिनीको साहित्यिक सक्रियता प्रशंसनीय रहेको बताउनुभयो भने सङ्ग्रहमा सङ्कलित कथाहरुको समीक्षा गर्दै समीक्षक रामराज रेग्मीले प्रगतिवादी आख्यानका क्षेत्रमा ‘घैंटीको मूल्य’ एक महत्वपूर्ण प्राप्ति भएको उल्लेख गर्नुभयो ।

लेखकीय मन्तव्य व्यक्त गर्दै कथाकार मरासिनीले आफूले देखेभोगेको समाज तथा परिवेशलाई समेटेर नै कथाहरु सिर्जना गरेको बताउनुभयो । उहाँले यस सङ्ग्रहका कथाहरुमार्फत समाजको विकृत यथार्थलाई उधिनेर सुन्दर र सभ्य समाज निर्माणको प्रयत्न गरेको बताउनुभयो । उक्त कथा सङ्ग्रहमा ‘घैंटीको मूल्य’, ‘कोरोनाको खोप’, ‘खोरियाकी आमै’, ‘गैरेली कोसे’, ‘महाप्राध्यापकको रातो डायरी’, ‘नपचेको मम’ लगायत १४ वटा कथा सङ्गृहीत छन् ।

गण्डकी साहित्य सङ्गमका उपाध्यक्ष तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सङ्गमकी कोषाध्यक्ष विजया सुवेदीबाट र अध्यक्षता भीम रानाभाटबाट भएको थियो ।