बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीहरूको संगठन जीसीएम सोसल क्लबले आइतबार कलेजको सभाकक्षमा ‘चलचित्रको आधार: प्रहर, प्रकाश र प्रभाव’ शीर्षकको विशेष कार्यक्रमको आयोजना गर्यो ।
उक्त कार्यक्रममा चर्चित कलाकारहरू सुरक्षा पन्त, नाजिर हुसेन र स्वस्तिमा खड्काको उपस्थिति प्रमुख आकर्षण रहेको थियो भने सहजकर्ताको भूमिकामा अस्मिता पोखरेल रहेकी थिइन् ।
कार्यक्रमको सुरुवातमा अतिथि कलाकारहरूले चलचित्र उद्योगप्रतिको आफ्नो आकर्षण र यस क्षेत्रमा प्रवेश गर्दा सामना गरेका चुनौतीहरूको बारेमा अनुभव साझा गरे ।
अभिनेत्री सुरक्षा पन्तले परिवारको अस्वीकृतिका बाबजुद चलचित्र क्षेत्रप्रतिको आफ्नो उत्साहलाई निरन्तरता दिएको बताइन् । उनले भनिन्, “मेरो परिवारले मलाई इन्जिनियर भएको हेर्न चाहन्थ्यो, तर मैले अभिनलाई नै पछ्याएँ र अन्ततः परिवारलाई मनाउन सफल भएँ ।”
यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले मह जोडीको अभिनयबाट आफूले प्रेरणा लिएको बताइन् । “मेरो परिवारले मलाई पेशागत स्वतन्त्रता दिएको थियो, जसले गर्दा मैले आफ्नो रुचिलाई करियरको रूपमा अपनाउन सकेँ,” उनले थपिन् ।
अभिनेता नाजिर हुसेनले मण्डला थिएटरबाट आफ्नो अभिनय यात्रा सुरु गरेको स्मरण गर्दै चलचित्र उद्योगमा मधेसी समुदायका कलाकारहरूप्रति भइरहेको सांस्कृतिक स्टिरियोटाइपिङको बारेमा पनि चर्चा गरे ।
कार्यक्रममा सुरक्षा पन्तको ‘गुलाबी’, स्वस्तिमा खड्काको ‘चिसो मान्छे’ र नाजिर हुसेनको ‘होस्टल’ चलचित्रका ट्रेलरहरू प्रदर्शन गरिएको थियो, र उक्त चलचित्रहरूमाथि छोटो छलफल पनि गरिएको थियो ।
पन्त र खड्काका आउँदै गरेका चलचित्रहरू सांस्कृतिक विविधता र सामाजिक मुद्दाहरूलाई उठान गर्ने अपेक्षा गरिएको छ । प्यानल छलफलपछि अतिथि कलाकारहरूले दर्शकहरूको प्रश्नहरूको उत्तर पनि दिए ।
कार्यक्रमलाई थप रोचक बनाउन जीसीएम म्युजिकल क्लबले प्रत्यक्ष संगीत प्रस्तुति दियो । यस कार्यक्रमको सञ्चालन अनिता पोखरेलले गरेकी थिइन् भने समृद्धि प्रसाईं र विशाल खनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।
जीसीएम सोसल क्लबले विगत ६ वर्षदेखि सामाजिक मुद्दासँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।