नेपालमै पहिलोपटक ‘अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन’ हुने भएको छ । एक प्रेस सम्मेलनको आयोजना गर्दै महोत्सवका संयोजक, नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति विमल निभाले आउँदो असोज ४ र ५ गते प्रज्ञा प्रतिष्ठानमा सम्मेलन सञ्चालन हुने बताए ।

करिब २५ जना विदेशी सर्जकहरू सहभागी हुने यो सम्मेलनलाई ‘अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन २०८१’ नाम दिएको छ । यो सम्मेलन नेपालसहित भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान, जापान, अमेरिका, दक्षिण कोरिया, मलेसिया, नेदरल्यान्ड, डेनमार्कलगायत देशहरूबाट विदेशी सर्जकहरूको सहभागिता रहने कार्यक्रम समितिका सदस्य सचिव विजयराज आचार्यले बताए ।

सम्मेलनमा बालसाहित्यका आयमलाई समेटेर स्वदेशी तथा विदेशी गरी दुई दर्जन कार्यपत्र प्रस्तुत हुने र त्यसमाथि छलफल हुने नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रदानले बताए । उनले भने, ‘अहिलेसम्म हाम्रा आर्थिकलगायत सीमितताका कारण यस किसिमका कार्यक्रमहरू गर्न इच्छा भएर पनि सकिरहेका थिएनौं । तर अहिले भने नेपाल प्रज्ञा प्रतिष्ठानसँग हामीले सहमति नै गरेर काम गरिरहेकाले यो सम्भव भएको हो । यो किसिमको सम्मेलनबाट हामीले बालसाहित्यमा गरेका काम विदेशी लेखकलाई देखाउन र उनीहरूले के लेखिरहेका छन् भन्ने थाहा पनि पाउँछौं ।’

सम्मेलनमा प्रस्तुतिको माध्यम–भाषा नेपाली र अङ्ग्रेजी हुने समालोचक तथा कार्यक्रम उपसमिति संयोजक महेश पौड्यालले बताए । उनले भने, ‘कार्यपत्रहरू प्राप्त हुने क्रम जारी छ । त्यसलाई हामीले छापेरै बाँड्ने योजना बनाएका छौं । विदेशी लेखकहरूले आफ्नै भाषामा लेखेका कार्यपत्रहरूलाई अनुवाद गर्ने काम पनि भइरहेकाे छ ।’

सम्मेलनलाई सफल बनाउन उप–कुलपति निभाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समितिले काम गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ अगीब बनेपाली, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, महासचिव विजयराज आचार्य, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्य, ग्रन्तपाल भोला श्रेष्ठ, रुम टु रिडका अनन्त वाग्ले र सञ्जु बज्राचार्य, समालोचक महेश पौड्याल, बालसाहित्यकार अनुराधा र प्रतिष्ठान कर्मचारी राजकुमार श्रेष्ठ सदस्य रहेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘समितिको सदस्य सचिव विजयराज आचार्य रहनुभएको छ भने महेश पौड्यालको संयोजकत्वमा कार्यक्रम उपसमिति, भोला श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति, अनन्त वाग्लेको संयोजकत्वमा प्रचार तथा प्रकाशन उपसमिति र अनुराधाको संयोजकत्वमा अतिथि स्वागत तथा व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ । उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको छ ।’

सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडको समन्वयमा संयुक्त रूपमा आयोजना गरिएको हो । अनेसास, पहिलो पाइला, थाङ फाउन्डेसन, शान्ति भोलेन्टियर्स, एसिया फाउन्डेसन सम्मेलनको सह–आयोजकका रूपमा रहनेछन् ।

सम्मेलनमा बालसाहित्य सम्बन्धी पुस्तक प्रदर्शनी, कथावाचन, बालचित्रकला प्रदर्शनी तथा प्यानलमा छलफलसमेत हुने जनाइएको छ ।