काठमाडौं । साहित्यमा निरन्तर क्रियाशील स्रष्टाहरूले ‘आफूविरुद्ध आफैं’ अभियान शुरु गरेका छन् । साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रमबीच यो अभियानको शुरुवात गरेका हुन् ।

यो अभियानले तीनवटा उद्देश्य तय गरेको छ । समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने, लेखनको विषय वस्तु र शिल्पविन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्ने गरी अभियान सुरु भएको हो ।

साहित्यकारहरू प्रशंसाको भोका हुन्छन भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढ्ने बताइएको छ ।

सिर्जनात्मक अभियान बारे यसका अभियन्ता साहित्यकार आर.एम. डङ्गोलले लक्ष्य र उद्देश्यबारे प्रकाश पारे । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो’, कवि डङ्गोलले भने ।

उनका अनुसार यो अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल रहेका छन् । अन्य सदस्यहरूमा आरएम डङ्गोल, छविरमण सिलवाल, होमशंकर बास्तोला, दीपक विहीन, बोधराज पौडेल र प्रतिरोध कार्की रहेका छन् ।

कार्यक्रममा बास्तोलाले अभियानको उद्देश्य, लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम जिम्मेवार हुनुपर्ने धारणा राखे ।

साथै, अभियानको पहिलो दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’ कवितासङ्ग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार डङ्गोलले समीक्षा गरेका थिए । उनले सङ्ग्रहभित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर लेखकीय सुझाव दिएका थिए ।

त्यसैगरी, समीक्षक बोधराज पौडेल, होमशंकर बास्तोला, छविरमण सिलवाल, दीपक विहीनले कृतिमाथि टिप्पणी गरेका थिए ।