काठमाडौं । पठन संस्कृतिको विकासका लागि अन्तर्क्रियात्मक कार्यक्रम ‘चकटी बहस’ गर्दै आएको बुकाहोलिक्समा यसपटक निबन्धकार प्रा.डा. ज्ञानु पाण्डेको निबन्धकृति ‘जीवनको अभिनन्दन’ माथि छलफल भएको छ ।
थापाथली काठमाडौंमा आयोजित चकटी बहसमा समीक्षक राजकुमार बानियाँले पाण्डेका निबन्धहरू लालित्यपूर्ण रहेको बताए । बानियाँले कृतिमा ११ वटा निबन्ध मात्रै भए पनि यसमा वैचारिक र बौद्धिक खुराक रहेको उल्लेख गरे ।
पाण्डेका निबन्धमा चिन्तन पक्ष पनि बलियो रहेको बताउँदै बानियाँले कृतिभित्र लोभलाग्दा निबन्धहरू रहेको बताए । उनले कृतिभित्रका कमजोरीहरूबारे पनि बोले ।
कार्यक्रमका अर्का समीक्षक वक्ता प्रमोद प्रधानले पाण्डेका निबन्धहरूमा जीवनप्रतिको गहिरो चिन्तन अभिव्यक्त भएको बताए । प्रधानले पाण्डेका निबन्धले सकारात्मक दृष्टिकोण राख्न उर्जा दिने बताए । प्रधानले भाषाले निबन्धलाई खासमा निबन्ध बनाउने भन्दै भाषिक शिल्प यस निबन्धकृतिमा पाइने बताए ।
निबन्धकार पाण्डेले एउटा लेखकलाई उभित्रको पाठकले अंकुश लगाउने बताइन् । त्यसैले पनि लेखनमा पाठकको सत्ता चल्ने उनको तर्क थियो । पाण्डेले जीवनको सार बोल्ने ११ निबन्धहरू यस कृतिमा समावेश गरेको उल्लेख गरिन् ।
बुकाहोलिक्सकी संयोजक साहित्यकार सगुना शाहले बहसमा ल्याउनुपर्ने कृतिहरू धेरै भएको बताउँदै केही समय महिला सर्जकहरूको कृतिमाथि मासिक रूपमा चकटी बहस हुने जानकारी दिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।