लेखक तथा पत्रकार तारा भट्टराईको पुस्तक ‘मार्केट अफ स्वीटहार्ट’ प्रकाशनमा आउने भएको छ । ‘मार्केट आफ स्वीटहार्ट’ गैरआख्यान विधाको पुस्तक हो ।
अमेरिकालाई कर्मभूमि बनाई नेपाली भाषा–साहित्यको उनन्वयनमा समेत सक्रिय भट्टराईको यो पुस्तक साहित्यपोस्टले प्रकाशनमा ल्याउन लागेको हो ।
‘मार्केट आफ स्वीटहार्ट’मार्फत् अमेरिकी यौन–जीवन, विशेषतः न्यूर्योक शहरको यौनकुण्ठा, उकुसमुकुस, समग्रमा यौनमानोविज्ञान मुखरित भएका छन् । साथै, महिला संवेदना, विद्रोह तथा सशक्तीकरणका चोटिला आवाजहरू उनको लेखनीको विशेषताका रूपमा देखिएका छन् ।
आफूलाई लेखकहरूको दुनियाँको एक सिकारु तर भुक्तभोगी पाठक भएको बताउँछिन् लेखक तारा भट्टराई । भन्छिन्, ‘‘मलाई अरुले लेखेको पढ्ने असाध्यै मन लाग्दै आएको छ । सानैदेखि अरुले लेखेका किताब र सिर्जनामा केही भेट्ने चाहनाले पटकपटक पढ्ने गरेकी छु । त्यसरी पढ्दा मेरो मनले त्यसको आफैं सम्पादन पनि गर्ने गर्छ । यस्तो लेखेको भए हुन्थ्यो, यसरी लेखेको भए हुन्थ्यो भन्ने लाग्छ ।’’
पढ्ने क्रममा उब्जिएका भावनाहरूले नै तारालाई कलम चलाउने उत्प्रेरणा मिल्यो । उनी थप्छिन्, ‘मैले लेख्दै गएँ, लेखको संख्या बढ्दै गयो । जति लेख्यो त्यति नै मन पनि सन्तुष्ट हुँदै गयो । तिनै छरिएर बसेका लेखलाई एकत्रित गरेर किताबको आकार दिएको हुँ । यो मेरो आफ्नै भोगाइ, अनुभव, अनुभूति र दृष्टिकोणको समग्र प्रतिबिम्ब हो ।’
भट्टराई विशेषतः गैरआख्यान विधामा कलम चलाउँछिन् । विचार तथा अनुभूतिहरूबिच फ्युजन गराई लेखिएका निबन्धहरू शैलगत रूपमा उनका निबन्धहरू उम्दा हुन्छन् । अमेरिकी जर्नल ‘ग्लोबल प्रेस इन्स्टिच्युट’, नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्यपोस्टका लागि नियमित स्तम्भकारसमेत हुन् ।
‘साहित्यपोस्टको स्थापनाकालदेखि नै जोडिनुभएकी लेखक तथा पत्रकार तारा भट्टराई स्पष्ट लेखन र विचारका कारण पाठकबीच सर्वप्रिय हुनुहुन्छ ।’, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘उहाँका प्रकाशित रचनाहरू पाठकले खुब रुचिका साथ पढ्नुहुन्छ । प्रस्तुत पुस्तक यसअघि प्रकाशित लेखहरू जस्तै पाठकले मन पराउनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
३१ वटा निबन्धहरू सङ्ग्रहित पुस्तकको मूल्य नेपालका लागि ५ सय रुपियाँ तथा नेपालबाहिरका लागि बाह्र अमेरिकी डलर रहनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।