काठमाडौं । ललिता ‘दोषी’द्वारा लिखित बालचित्रकथा ‘हार्मोनियमको धून’ सार्वजनिक भएको छ । अभिभावकले आफ्ना बालबालिकाको इच्छा नबुझ्दा तिनमा पर्ने मनोवैज्ञानिक असरलाई कथाले सरल रूपमा प्रस्तुत गरेको छ ।

यो दिदीबहिनी आयुषा र अनुपमाको कथा हो । पढाइसँगै गीत गाउन सिपालु आयुषालाई बुवाले बढी नै माया गर्छन् र हार्मोनियमको धूनसँगै गीत गाउन सिकाउँछन् । तर, अनुपमाको पढाइ राम्रो नभएकाले उनीप्रति बेवास्ता गरिदिन्छन् । उनको उपेक्षाले अनुपमामा बिस्तारै बेचैनी र निराशा बढ्दै जान्छ । पढाइमा दिएको दबाबले उनी खाना पनि राम्रोसँग खाँदिनन् ।

यो कुरा थाहा पाएकी आमाले उनलाई हरेक साँझ बाहिर लिएर जान्छिन् । यसमा पनि बुवाले शंका गर्दै उनलाई लिएर नजान दबाब दिन्छन् । एक दिन स्कूलमा गीत प्रतियोगिता हुन्छ, जहाँ अनुपमाले अप्रत्याशित नतिजा निकाल्छिन् । के उनी विजयी भइन् होला ? अनि आमाले हरेक साँझ उनलाई कहाँ लगेकी रहिछन् ? यस्तै जिज्ञासाले पनि कथा रोचक बनेको छ ।

सबै बालबालिकामा कुनै न कुनै प्रतिभा हुन्छ र त्यसलाई बुझेर अभिभावकले हौसला दिनुपर्छ भन्ने सन्देश कथाले दिएको छ । यो कथा पाँच वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा सात वर्षमाथिका बालबालिकाले आफैं अध्ययन गर्न सक्नेछन् । कृष्णदीप सिग्देलले सम्पादन गरेको कथामा विनिता बुद्धाचार्यका चित्रले आकर्षण थपेका छन् ।

कथाकार ‘दोषी’ लामो समयदेखि कथा लेखन क्षेत्रमा सक्रिय छिन् । नेपालीमा स्नातकोत्तर उनका बाल साहित्यका सहित ३० भन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । २०६३ सालमा प्रकाशित उनको पहिलो पुस्तक नै बालकथाको थियो । उनी कथाका अलावा नाटक, बालगीत, कविता, मुक्तक र गजल पनि लेख्छिन् ।

पुस्तक कथालय इन्कले प्रकाशन गरेको हो । २४ पृष्ठ रहेको पुस्तकको मूल्य दुई सय रुपैंया रहेको छ । यस बाहेक उनका बालकथा र लोककथा संग्रह पनि कथालयबाट प्रकाशित छन् ।