युवा कवि तथा गजलकार विकल त्यागीको नयाँ कृति ‘स्फुरणका भावकणहरू’ गजलसङ्ग्रहमाथि भक्तपुरमा परिचर्चा गरिएको छ ।

सिर्जना अभियान समाजको आयोजनामा भएको परिचर्चामा बोल्दै स्रष्टाहरूले गजल कविता कथा जुनै विधाबाट पनि जीवनका महत्त्वपूर्ण पक्षलाई प्रभावकारी रूपमा व्यक्त गर्नुपर्ने बताए ।

कथाकार ध्रुव मधिकर्मीले बाढीपछि शान्त लहरमा आएका गजलकार विकल त्यागीका गजलमा जीवनका विविध अनुभूतिहरूलाई सरल र सहज रूपले अभिव्यक्ति दिइएको बताउनुभयो ।

सयात्राकार तथा गजलकार हरि थापाले राष्ट्रिय भावका साथै राजनीतिक विसंगतिलाई गजलकार त्यागीले सहजताका साथ व्यक्त गरेका छन् भन्नुभयो ।

अर्का साहित्यकार दिव्य गिरीले विकलका गजलमा प्रेम, जागिरको समस्या र संवेदनाहीनलाई भावुक रूपमा आएको बताउनुभयो ।

कृतिका स्रष्टा त्यागीले कुनै पनि विधामा निर्बन्ध भएर व्यक्त गर्ने आफ्नो चाह भए पनि गजलमा थोरै भए पनि यसको मान्यतामा बाँधिएर अभिव्यक्त भएको बताउनुभयो ।

स्फुरणका भावकणहरू कृतिमा समसामयिक भावका चौरानब्बे वटा गजलहरू छन् । यसअधि स्रष्टा त्यागीका साँघुरो सुर्को कवितासङ्ग्रह र आमआलाप गीतसङ्ग्रह प्रकाशित छन् ।