कवि डिइबी सिकारुको कवितासङ्ग्रह ‘यौवन हराएको मान्छे’ प्रकाशनमा आउने भएको छ । सिकारूको यो कवितासङ्ग्रहलाई साहित्यपोस्ट (इ) दैनिकले प्रकाशनमा ल्याउन लागेको हो ।
विगत छ वर्षदेखि दक्षिण कोरियामा कार्यरत सिकारू नेचासल्यान, सोलुखुम्बुका स्थानीय हुन् । कक्षा ५ मा पढ्दा ‘आमा’ शीर्षकको कविता लेखी काव्ययात्रा सुरू गरेका उनी त्यतिबेला आफ्ना कविताका पाठक स्वयं थिए । कक्षा ९ मा पुग्दा उनले केही कविता छन्दमा समेत लेखेको सम्झन्छन् । भन्छन्, ‘त्यतिबेला के लेखियो अहिले ठ्याक्कै याद छैन । त्यतिबेला लेखिने कविताका अनुहार र अहिले लेखिने कविताका अनुहार पनि धेरै फरक छन् ।’
कविता लेखाइको क्रम निरन्तर स्नातक तेस्रो वर्षसम्म पनि चलिरहेको थियो सिकारूको तर उनले प्रकाशनतर्फ भने ध्यान दिएका थिएनन् । कोरियन भाषाको अध्ययन सुरू भएसँगै उनको कविता लेखनको यात्रा टुङ्गियो । त्यसपछिका ६/७ वर्ष उनी पूर्णतया कविताबाट अलग्ग रहे ।
‘अहिले लगभग २ वर्ष जस्तो भयो कविता लेखनमा फर्किएको छु । तर मेरा कविताहरू प्रकाशनमा आउन थालेका भने धेरै समय भएको छैन ।’, सिकारू भन्छन्, ‘मेरो पहिलो कविता नै साहित्यपोस्टमा प्रकाशित भएको हो । पछिल्लो पटक कविता लेख्न थाल्दाको मेरो पहिलो कविता नै साहित्यपोस्टमा छापिएपछि कविता लेखनमा अझ धेरै उत्साह मिलेको थियो । यसर्थमा साहित्यपोस्ट मेरा लागि थप उत्प्रेरणाको जग बन्न पुग्यो । म यहाँसम्म आइपुग्नुमा साहित्यपोस्टको ठुलो भूमिका छ ।’
प्रस्तुत प्रकाशोन्मुख सङ्ग्रहमा सिकारू आफैंले भोगेका, देखेका र जानेका जीवन र जगतका कविताहरूको बाहुल्यता रहेको छ । साथै प्रेम, समाज, देश-विदेश र उत्प्रेरणाका विषयहरूसमेत कवितामा मुखरित भएका छन् । सिकारू भन्छन्, ‘यो सङ्ग्रहमा पढेर भन्दा परेर लेखिएका कविताहरूको बहुलता छ । मेरा कविताहरूले केही नयाँपन पनि लिएर आएका छन् भन्ने मलाई लाग्छ । हरेक कवितामा केही न केही नयाँपन हुनुपर्छ भन्ने भोकले नयाँ कोशिश गरेको छु । आजका बौद्धिक पाठकहरूलाई कविताले पक्कै पनि छुन्छ भन्नेमा विश्वस्त छु ।’
सिकारूका कवितामा नवीनता भेटेर नै प्रकाशनमा जिम्मा साहित्यपोस्ट लिएको बताउँछन् प्रधानसम्पादक अश्विनी कोइराला । उनी भन्छन्, ‘सिकारूका कवितामा नवीनता र मौलिक छनक भेटिन्छन् । कविताका पारखीहरूका लागि यो एक गतिलो खुराक हुनेमा हामी विश्वस्त छौं ।’
पुस्तक भाद्र पहिलो साताबाट बजारमा उपलब्ध हुने साहित्यपोस्टले जनाएको छ । ४५ थान कविता सङ्ग्रहित कृतिको मूल्य ३ सय ५० रूपियाँ रहनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।