साहित्यपोस्ट प्रतिनिधि, भर्जिनिया । नेपाली कवि तथा आध्यात्मिक चिन्तनप्रधान निबन्ध सर्जक अशोकनाथ तिवारीका विभिन्न पाँच पुस्तक अमेरिकी राज्य भर्जिनियाको मनासस शहरमा आयोजित एक कार्यक्रममा एकैसाथ लोकार्पित भएका छन् ।

अमेरिकाका लागि नेपालका कार्ववाहक राजदूत कुमार खरेलको सभापतित्वमा गत अगस्ट ११ आइतबार सम्पन्न कार्यक्रममा तिवारीका क्रमशः ‘चुनौती’, ‘मैले नचिनेको म’, ‘पितृलोकको वर्णन’, ‘मैजु महारानी’ र ‘हिरासत’ पुस्तकहरू विमोचित भएका हुन् । यी सबै पुस्तक हिमालयन प्रतिष्ठान काठमाडौंबाट प्रकाशन भएका हुन् ।

कार्यक्रममा तिवारीका पुस्तकहरूबारे काशीनाथ न्यौपाने, होमनाथ सुबेदी, डा.दुर्गा पोखरेल, बसन्त श्रेष्ठ, सुदीपभद्र खनाल, तीर्थ पाण्डे, हरि घिमिरे, भुपनारायण घर्ती, जयदेव गौतम, लेखनाथ भण्डारी र सन्तोष खरेलले समीक्षात्मक टिप्पणी गरेका थिए । तिवारीका कृतिहरूमा प्रमुख रूपले आध्यात्मिक चिन्तन, पौराणिकता, राष्ट्रियता, संस्कृति, इतिहास, भूगोल, धर्म, राजनीति, इतिहास, नैतिक शिक्षा, प्रकृति र पर्यावरणलाई एक वा अर्को किसिमले प्रस्तुत गर्ने प्रवृत्ति रहेको वक्ताहरूले बताए ।

लगभग सबैजसो वक्ताले लेखक तिवारीमा रहेको वैदिक–सनातनी दर्शनको ज्ञान र त्यसलाई विभिन्न पौराणिक एवं मिथकीय सन्दर्भसहित सरल लेखनशैलीमा उतारेको भए पनि पुस्तकहरूको पुनर्लेखन र सम्पादनमा भने ध्यान नपुर्याएकोले हिज्जे तथा भाषागत कमजोरी भने उल्लेखनीय रूपमा आँखा सामु आइरहने अवस्था रहेको औंल्याएका थिए ।

नेपाल ल क्याम्पसका पूर्व उप–प्राध्यापक, अधिवक्त तथा राष्ट्रिय सभाका पूर्व सदस्य (वि.सं.२०५४–२०६०) सत्तरी वर्षीय लेखक अशोकनाथकी श्रीमती कमला तिवारीको स्वागत मन्तव्य पश्चात् समग्रमा करिब पाँच घण्टा चलेको कार्यक्रमलाई प्रारम्भमा लेखक तिवारीकी बुहारी प्रार्थना तिवारीले र पछि कार्यक्रमको अन्त्यसम्मै सन्तोष खरेलले सञ्चालन गरेका थिए । कार्यक्रम किशोर–किशोरीहरूको मङ्गलोच्चारणबाट शुरू भएको थियो ।

 कार्यक्रममा विमोचित पाँच पुस्तकका अतिरिक्त लेखक अशोक तिवारीका दुइटा काव्य क्रमशः ‘अन्तरिक्ष युद्ध’ र ‘वागमती’, तीनवटा महाकाव्य क्रमशः ‘इन्द्रकुमारी’, ‘राजेन्द्रलक्ष्मी’ र ‘भुवनेश्वरी’, पाँचवटा आध्यात्मिक चिन्तनप्रधान निबन्ध सङ्ग्रह क्रमशः ‘विरासत’ ‘चुनौती’, ‘पितृलोकको वर्णन’, ‘मैले नचिनेको म’ र ‘हिरासत’, अनि एक ऐतिहासिक उपन्यास ‘मैजु महारानी’ समेत एघार ओटा पुस्तक प्रकाशित छन् ।