साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान २०८१’ ले सम्मान गरिने भएको छ ।अनलाइन अभिलेख प्रा.लि.ले एक कार्यक्रमको आयोजना गरी सो सम्मानको घोषणा गरेको हो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक रहेको ‘मौलशाेभा राई आमा सम्मान २०८१’ निर्णय समितिले उक्त सम्मानको निर्णय गरेको हो । निर्णय समितिमा डा. सुकराज राई, सिद्धराज राई, विमला तुम्खेवा र कमल ज्ञवाली रहेका छन्।

पुरस्कारको संस्थापक डा. पुरन राईको जन्मदिनको अवसरमा सो सम्मानको घोषणा गरिएको हो । नेपाली साहित्य र समाज सेवाकाे क्षत्रमा दीपा राई पुनले पुर्याएको योगदानस्वरूप उनकी आमा विमला राईलाई सो सम्मान दिने निर्णय भएको हो।

दीपा राई पुनको जन्म दिनको अवसर पारेर कात्तिक २९ गते उनकी आमा विमला राईलाई नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित मौलशोभा राई आमा सम्मान २०८१ ले सम्मान गरिने भएको छ।

डा. राईले भाषा, साहित्य, कला, संस्कृति,आर्थिक, राजनैतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने बताएका छन् ।

साहित्यकार डा. राईको केही समयअघि वसन्त ऋतु उपन्यास, लाशमाथिको मानव नाटक, अस्तु कथासंग्रह, कोभिड डायरी डरका बिम्बहरू, सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता अलङ्कारविधानको जस्ता कृति एकै पटक प्रकाशित भएकाे थियाे।

उक्त कार्यक्रममा सञ्चारकर्मी तथा साहित्यकार किवाङ्गहाङ्ग राई, राजेश खनाल, योगेन्द्रकुमार राई, श्रीराम राई लगायतको उपस्थित रहेको थियो ।