हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता ४ वटा पुस्तक प्राप्त भएको छ ।

यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । सबै पुस्तक किन्न र पढ्न सकिँदैन । तर बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन यो स्तम्भमा गरिरहेका छौँ ।

===

१. मौन आवाज – जुमन किरण

‘‘आँधीको सामना गर्ने मलाई ताकत चाहिएको छ
टुक्रिएको मनलाई अब मर्मत चाहिएको छ ।

मिहिनेतले मिल्नै छोड्यो जिन्दगीको हिसाबहरू
परीक्षा नदिई पास हुने किस्मत चाहिएको छ ।’’ (पृ. १)

गजलकार जुमन किरणको गजलसङ्ग्रह हो ‘मौन आवाज’ । आफ्ना गजलहरूका माध्यमबाट किरणले सामाजिक विकृति, व्यक्तिगत मनोविकृतिलगायत विषयवस्तुलाई उठान गरेकी छन् ।

‘जुमन किरण मौन आवाज शीर्षकको गजलसङ्ग्रह लिएर अहिले हामी माझ उपस्थित भएकी छन् र उनका रचनामा विविध प्रकारका विषयहरूको प्रस्तुति पाइन्छ ।’, भूमिकामा प्रा.डा. कृष्णहरि बराल लेख्छन्, ‘उनी टुक्रिएको मनलाई त्यतिकै राखेर पीडा ओकल्ने गजलकार होइन रहेछिन्, उनी त यसलाई मर्मत गर्ने ताकतको खोजीमा पो रहिछिन् । यस्तै उनलाई जातैपिच्छेको संगठन पनि मान्य रहेनछ । मेहनत नै नगरी उतीर्ण हुने अवस्था पनि उनलाई मञ्जुर छैन र हामीमा फैलँदै गरेको सङ्कीर्ण व्यवहार पनि ठीक छैन भन्ने उनको विचार छ ।’

‘सोच विचार नै हाम्रो, यो जीर्ण छ
त्यसैले त व्यवहार सङ्कीर्ण छ ।

अटल रहने हाम्रो, यो इमान नि
स्वार्थका सामु भने विदीर्ण छ ।

झुटहरू नै त फस्टाउँछन् सधैं
यहाँ सत्यता प्रायः आकीर्ण छ ।

पापीहरूलाई नै फलिफाप त
सत्यको गति पो अवतीर्ण छ ।’’ (पृ. ३)

महालक्ष्मी साहित्य समाजका संस्थापक सदस्य र कोषाध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाका सचिवसमेत रहेकी किरण गजलका अलवा मुक्तक र कवितामा कलम चलाउँछिन् ।

पुस्तकलाई महालक्ष्मी साहित्य समाजले प्रकाशनमा ल्याएको हो । ८६ थान गजल सङ्ग्रहित पुस्तकको मूल्य ३ सय रुपैंया रहेको छ ।

===

२. बावऋ – मिलन सङ्ग्रौला

युवा पुस्ताका लोकप्रिय आख्यानकार मिलन सङ्ग्रौलाको नवीनतम उपन्यास हो ‘बावऋ’ । ‘च्याट गर्ल’ कथासङ्ग्रहबाट साहित्याकाशमा उदाएका सङ्ग्रौलाको यो दोस्रो उपन्यास हो । यसअघि उनको ‘पर्पला’ उपन्यास प्रकाशित छ ।

‘बावऋ’मा बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा छ । ०६२–६३ को परिवर्तनअघि नेपाली समाजले भोगेको द्वन्द्व र त्यसबाट सिर्जिन बसाइँसराइका घटनाहरू पनि छन् । राजनीतिक तथा समाजिक द्वन्द्वका बीच ‘बावऋ’ आदर्श प्रेमको कथ्य बुन्दै अघि बढेको छ । नवीन शैली र भाषिक मिठासका दृष्टिले सङ्ग्रौला सफल देखिन्छन् ।

‘बादल आफैंभित्रको आकाशमा सपना र प्रेमको उडान भरिरहन्छ । ऊ कहिले ऋतुका रङहरूमा घोलिन्छ त कहिले तिनै रङ पखालिने गरी वर्षामा रुझ्छ ।’, पुस्तकको अन्तिम कभर पृष्ठमा लेखिएको छ, ‘वर्षासँग बादलबाट छुटेर फेरि बादल नै बनाउन सक्ने अनौठो खुबी छ । ऊ बादलको हर अवस्था र स्वरूपलाई प्रेम गर्छे, कुनै अपेक्षा नगरी । ऋतु बादलमा रङ भर्छे अनि प्रेम र सपनाको घेरा लगाएर बादललाई आकार दिन्छे । तर ऊ आफैंलाई थाहा छैन — बादलबाट वर्षा र वर्षाबाट बादलको चक्र चलिरहने ऋतुकै कारण हो । बावऋ यिनै पात्रहरुको त्रिकोणात्मक प्रेमकथा हो ।’

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको उपन्यासको मूल्य ५ सय ६० रुपैंया रहेको छ ।

===

३. धुवाँको तस्बिर – डा. राजु अधिकारी

डा. राजु अधिकारीको उपन्यास हो ‘धुँवाको तस्बिर’ । उपन्यासमा अधिकारीले सङ्गीतमा रुचि भएको एक नेपाली युवकको समय प्रवाहको कथा कहेका छन् जो इन्जिनियरिङ अध्ययन गर्छ र चिनियाँ साथीको नजरबन्धमा पर्छ ।

सानै उमेरबाट सङ्गीतमा रुचि राख्ने कपिल विदेश पढ्न जान्छ र इन्जिनियर बन्छ । विश्वकै आधुनिकमध्येको एक शहर साङ्घाईमा सुविधासम्पन्न जीवन बिताइरहेको उसले सङ्गीतको तीर्खा मेट्ने पेय पाउँदैन । त्यहाँको आधुनिक जीवनप्रति उसमा बिस्तारै वितृष्णा जागृत हुन्छ, र नेपालै फर्की प्राकृतिक जीवन जिउँदै सङ्गीत साधनातर्फ लाग्ने योजना बुन्न थाल्छ । तर समय प्रवाह उसले चाहेको दिशामा चल्दैन ।

बढीमा पाँच वर्ष बसी नेपाली फर्कने योजना बनाएको कपिलको जीवनमा अनेकन बाधा–अवरोधहरू आउँछन् । बाधा–अवरोधहरूसँग जुद्धाजुद्धै १५ वर्ष चीनमै बित्छ । १५ वर्ष बितेपछि जसै नेपाल फर्कने योजनामा रहेको कपिललाई उसको एक चिनियाँ साथीले अनेकन प्रलोभन देखाउँछ । प्रलोभनमा नपर्ने देखिएपछि उक्त साथीले अनेक प्रपञ्च रची कपिललाई नजरबन्धमा बस्न बाध्य पार्छ ।

नजरबन्धबाट कपिल कसरी निस्कन्छ ? के कपिल नेपाल फर्किएर सङ्गीत साधनामा लाग्न सफल हुन्छ ? यस विषयलाई अधिकारीले उपन्यासमा रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।

१ सय ८५ पृष्ठमा फैलिएको उपन्यासलाई थुप्रै सोलुसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।

===

४. प्रेम, त्याग र समर्पण – बुलु मुकारुङ

केदाननाथ श्रेष्ठ र लीलादेवी श्रेष्ठको जीवन, अनुभव र सम्झनाको पुस्तकीकरण हो ‘प्रेम, त्याग र समर्पण’ । जसलाई पुस्तकको रूप दिने काम लेखक बुलु मुकारुङले गरेका छन् । कृतिमा श्रेष्ठद्वयका विस्मृतिमा रहेका कहालीलाग्दा, करुण–कर्कस र रुग्ण तीता–मीठा सम्झनाहरू प्रस्तुत भएका छन् ।

‘यो कृति कुनै कथिएको वा बनावटी कथा, आख्यान–उपन्यास होइन जहाँ चराचर जगत् नै मान्छे जस्तै बोलुन्, संवाद गरुन् ।’ प्राक्कथनमा लेखक मुकारुङ लेख्छन्, ‘यो एक सत्यतथ्यमा आधारित दुई व्यक्तित्वले अनुभूत गरेका, दुःख–कष्ट बेहोरेका विगतको संस्मरण–सम्झना हो । भोगाइ हो । घटनाहरू हुन् । पात्रद्वयका आफ्ना निजी अनुभूति हुन् । जो मान्छेले आफ्ना जीवनकालमा भोग्ने गर्छ, भोग्दै जाने गर्दछ, ज्ञान र अनुभव हासिल गर्न गर्दछन् ।’

पुस्तकमा श्रेष्ठद्वयका जीवनका अनुभव र सम्झनालाई ४६ उपशीर्षकमा प्रस्तुत गरिएको छ ।

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ९९ रुपैंया रहेको छ ।