काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानको १६३ औं आख्यान वाचन तथा २०८० सालको पुरस्कार अपर्ण कार्यक्रम गोकर्णेश्वरस्थित कृष्णमन्दिर कुटी परिसरमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रिसालबाट विविध चार विधामा पुरस्कृत हुने चार जना साहित्यिक श्रष्टाहरूलाई दोसल्ला ओढाई नगद तथा प्रमाणपत्र प्रदान गरी सम्मान अर्पण गरिएको थियो ।
पुरस्कृत व्यक्तिवहरूमा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सुरभि-अच्युतराम लधुकथा पुरस्कार, साहित्यकार हिरण्यकुमारी पाठकले सुरभि-प्रह्लाद नारी आख्यान पुरस्कार, साहित्यकार विद्याप्रसाद घिमिरेले सुलेख आख्यान प्रतिभा पुरस्कार एवम् सहित्यकार रामचन्द्र दाहालले सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्वहरूको तर्फबाट श्रीओम श्रेष्ठ रोदनले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रिसालले सुरभि साहित्य प्रतिष्ठान यस क्षेत्रको सक्रिय साहित्यिक संस्था भएकोले सबैले सकेको सहयोग गर्नुपर्ने हुनाले गोकर्णेश्वर नगरपालिकाले सकेको सहयोग गरिरहेको बताउनुभयो ।
त्यसैगरी, विशिष्ट अतिथि वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले सुरभि साहित्य प्रतिष्ठानलाई कार्यालय र आख्यान गोष्ठी सञ्चालन गर्नका लागि भवन उपलब्ध गराउन नगरपालिका र वडा कार्यालय लागिपरेको बताउनु भयो ।
सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा विशिष्ट अतिथिमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा एवम् वडाध्यक्ष नन्दलाल श्रेष्ठ, अतिथि साहित्यकार श्रीहरि फुयाँल एवम् प्रतिष्ठानका संरक्षकत्रय वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ समालोक युवराज मैनाली, वरिष्ठ साहित्यकार वेदमणि घिमिरे एवम् सल्लाहकारद्वय साहित्यकार कणाद महर्षि तथा साहित्यकार गङ्गा पौडेल कर्माचार्यको समुपस्थिति थियो ।
अतिथिहरूमध्ये रामप्रसाद पन्त, नरेन्द्रराज पाैडेल, श्रीहरि फुँयाल, गङ्गा पौडेल कर्माचार्य, युवराज मैनालीले मन्तव्य राख्नुभएको थियो । साधारणसभाका वक्ता विशिष्ट अतिथि वेदमणि घिमिरे, विजय चालिसे र गाेकर्णेश्वर नगरपालिका ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ हुनुहुन्थ्यो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराजुलीले पुरस्कृत व्यक्तित्वहरूको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो भने प्रतिष्ठानका सहसचिव मेनका पोखरेलले उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सचिव अच्युत घिमिरेले उद्घोणण कार्य सम्हाल्नुभएको थियो ।
पुरस्कार अर्पण अगाडि कथा वाचनको कार्यक्रम सञ्चालन भएको थियो । कथा वाचन गर्नेहरूमा कृष्ण सुवेदी निराकार, इन्द्रकुमार श्रेष्ठ सरित, रामचन्द्र दाहाल, विद्याप्रसाद घिमिरे, श्रीओम श्रेष्ठ रोदन र हिरण्यकुमारी पाठक हुनुहुन्थ्याे।
सोही दिन बिहान ११ बजेदेखि १६ औँ साधारणसभा भएको थियो । उक्त सभामा सात सदस्यीय नयाँ कार्यसमितिको चयन भएको थियो । जसमा अध्यक्ष बाजुरामप्रसाद पौडेल, उपाध्यक्ष परशुराम पराशर, सचिव अच्युत घिमिरे, कोषाध्यक्ष प्रमोद प्याकुरेल, सहसचिव मेनका पोखरेल आचार्य, सदस्य वसन्त रिजाल र नगेन्द्रप्रसाद भट्टराई हुनुहुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।