काठमाडौं । कुमार पौडेलद्वारा लिखित बाल चित्रकथा ‘डाँडाबारीको भूत’ नेपाली तथा ‘Phantom of the Terrace Farm’ अंग्रेजी भाषाका पुस्तक किताब जात्राको एक कार्यक्रममाझ लोकार्पण गरिएको छ ।
लेखक तथा बालबालिकाहरू; फिनिक्स स्कुल, कक्षा ५ का अभीष जोशी, रोजबड स्कुल, कक्षा ५ का आध्या तिवारी, एस स्कुल कक्षा ७ का प्रत्युस झा तथा रातो बंगला स्कुल, कक्षा १ का सनभ्या कटवालद्वारा सार्वजनिक भएको छ । रातको समय “भूत” आयो भनेर डराउने जिज्ञासु समीरमा सालक भेटेपछि कस्तो परिवर्तन देखिन्छ भन्ने कथाले प्रस्तुत गरेको छ ।
लेखक कुमार पौडेल लोपन्मुख जनावरका विषय अनुसन्धान गर्छन् । उनी सामाजित संस्थामा कार्यरत छन् र उनी आफूले अनुसन्धान गरेका विषयको कथा बालबालिकालाई दिन रुचाउछन् ।
बुबासँगै गोठमा सुत्न गएको समीर राति भैंसीले स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दा पनि भूत आएको ठान्छ । बुबालाई उठाएर भूत आएको सुनाउँछ, तर बुवाले वास्ता गर्दैनन् । भोलिपल्ट स्कुलमा साथीहरूलाई सुनाएपछि पासाङ पनि भूत समात्न भन्दै समीरसँगै आउँछ । टर्च बोकेर राति बारीमा निस्किएको पासाङले बारी खोस्रिएको र भ्वाङ पारेको पनि देख्छ । यतिकैमा गुडुल्किँदै समीरतिर आएको जीवलाई उनीहरूले भूत भन्ठान्दै समात्छन् र ल्याएर थुन्चेमा छोप्छन् । हल्लाखल्ला भएपछि डाँडाबारीको भूत हेर्न बिहानै गाउँले आइपुग्छन् । के पासाङ र समितले भूत समाते होला त ?
चोरीशिकारी, अवैध व्यापार र बासस्थान विनाशका कारण लोप हुने खतरामा रहेको सालक संरक्षण गर्नुपर्छ भन्ने विषयको ज्ञान कथाले दिएको छ । यस्तै, भूतप्रति बालबालिकाको दिमागमा रहेको भ्रम चिर्न पनि यसले मद्दत गर्छ ।
यो कथा सात वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफैं अध्ययन गर्न उपयुक्त छ ।
नीति श्रेष्ठका चित्र रहेको पुस्तकको सम्पादन सौरभकिरण श्रेष्ठ र भाषा सम्पादन डा. रमेश शुभेच्छुले गरेका हुन् । पुस्तक कथालय इन्कले प्रकाशन गरेको हो । ३३ पृष्ठ रहेको पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ । नेपाली र अंग्रेजी दुवै भाषाका पुस्तकहरू बजारमा उपलब्ध भएको कथालयले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।