नेपालभाषा चिबाखं साहित्य पुचः पाँचौं वर्ष प्रवेशको अवसरमा स्मारिका सार्वजनिकी तथा लघुकथामाथि विमर्श गरिएको छ ।
पाटनको लोक साहित्य परिषदको सभाकक्षमा आयोजित समारोहमा कथाकार ध्रुव मधिकर्मीले सवथोक डिजिटल माध्यममा भए पनि कागजी अभिलेखको पनि महत्व भएकोले लघुकथाको अभिलेख राख्न स्मारिका प्रकाशन गरिएको बताउँदै लघुकथामा आयाम छोटो र सकभर एउटा दृश्यको खास विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
अर्का कथाकार केदार सितुले लघुकथामा अक्षर गन्ती गर्ने होइन भन्दै समालोचकहरुको कमीले पनि साहित्य फष्टाउन नसकेको विचार व्यक्त गर्नुभयो ।
चिबाखं साहित्यका संयोजक नरेश अमात्यले कोरोनाको बन्दाबन्दीले साहित्य लेखनलाई प्रभाव नपरोस् भन्ने उद्धेश्यले फेसबुकमा संचालन गरिएको यो समूह आज पाँचौ वर्षमा प्रवेश गरेको बताउनुभयो ।
कार्यक्रममा शाक्य सुरेन, पुष्पराज राजकर्णिकार, माणिक उराय, मनोजराज कायस्थ, मीना शाक्य प्रधान, तुयु पुं र महर्जन रत्नले पनि आआफ्ना विचार राख्नुभएको थियो ।
कार्यक्रममा चिबाखं साहित्यका सदस्यहरु धुव मधिकर्मी, केदार सितु, नरेश अमात्य, सुरेन्द्रलाल भुजू विमल ताम्राकार, रीता महर्जन र दिव्या बज्राचार्यले नेपालभाषा चिबाखंको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।