तनहुँका कवि आकाश अधिकारी र दिवाकर भट्टराईसहित नेपाल अधिराज्यभरबाट आठ जना कवि साहित्यकारलाई अन्तर्राष्ट्रिय तथागत सिर्जना सम्मान २०२४ समर्पण गर्ने निर्णय भएको छ।

सिद्धार्थ तथागत कला साहित्य संस्थानको आयोजनामा इटवा बजार सिद्धार्थनगर, उत्तर प्रदेश भारतमा आगामी १० नोभेम्बर २०२४ मा हुन गइरहेको तथागत सिर्जना सम्मान २०२४ का लागि छनोट समितिको निर्णयअनुसार पुरस्कार समर्पण गर्ने कवि साहित्यकारको नामावली सार्वजनिक भएको छ।

छनोट समितिका वरिष्ठ सदस्य एवं सांसद रेखा यादवले अन्तर्राष्ट्रिय तथागत सृजना सम्मान–२४ का लागि नामहरू प्रस्ताव गर्दै सबैलाई औपचारिक निमन्त्रणा पत्र मेलमार्फत पठाएको जानकारी गराएकी हुन्।

अन्तर्राष्ट्रिय तथागत सिर्जना सम्मान प्राप्त गर्नेहरूमा तनहुबाट आकाश अधिकारी र दिवाकर भट्टराई, विराटनगरबाट तथागत विशेष सृष्टि सम्मान रामबाबु दाहाल र मधु पोख्रेललाई समर्पण गर्ने निर्णय भएको छ।

सिरहाबाट अंशुकुमारी झालाई तथागत सिर्जना सम्मान समर्पण गर्ने निर्णय भएको छ। तथागत साहित्य गौरव सम्मान गड्स निरौला र सूर्यप्रसाद लाकोजुलाई समर्पण गर्ने निर्णय भएको छ।

यसैगरी, बिरङ्गना योगीज्यूलाई तथागत साहित्य सिर्जना सम्मान समर्पण गर्ने निर्णय भएको छ। उक्त सम्मान आगामी नोभेम्बर १० मा समर्पण गर्ने संस्थाको विज्ञप्तिमा उल्लेख छ।