राज यात्री लम्साल, युएई । नुवाकोट सेवा समाज युएईको आयोजनामा आइतबार दुबईमा वृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । बरदुबई स्थित ब्लु प्यालेस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपालबाट आमन्त्रित कवि तथा गजलकार सुमित्रा सुमी विशेष अतिथि स्रष्टाको रूपमा रहनुभएको थियो ।
सोही कार्यक्रमका अवसरमा कवि/गजलकार सुमीलाई नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै आयोजक समितिले विशेष सम्मान समेत गरेको थियो ।
त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली समाज युएईको तर्फबाट पनि उहाँलाई सम्मान गरिएको थियो । सगरमाथा साहित्य प्रतिष्ठानकी केन्द्रीय सदस्य समेत रहनु भएकी कवि सुमीलाई प्रतिष्ठानका तर्फबाट पनि खादा लगाएर मायाको चिनोको साथमा सम्मान-पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहनुभएकी कवि/गजलकार सुमीले दुई चरणमा गरेर गद्य र पद्य कविताका साथमा गजल वाचन गर्नु भएको थियो ।
साहित्य संगम नुवाकोटकी अध्यक्ष समेत रहनु भएकी सुमी पेशाले शिक्षिका हुनुहुन्छ । नुवाकोट बसेर लामो समयदेखि साहित्य लेखनसँगै विभिन्न साहित्यिक गतिविधिमा निक्कै सक्रिय रहँदै आउनु भएकी सुमी लामो समयदेखि रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आइरहनु भएको छ ।
साथै, उहाँले सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजबाट २ सय अङ्कसम्म साहित्यिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्य संगम नुवाकोटद्वारा प्रकाशित साहित्यिक पत्रिका “संगम” को विमोचन समेत गरिएको थियो ।
नुवाकोट सेवा समाज युएईका अध्यक्ष नवीन जंग कार्कीले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने नेपाली राजदूतावास युएईका नियोग उपप्रमुख विशाल भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । दूतावासका प्रतिनिधि विकास भट्टराईको समेत उपस्थिति रहेको कार्यक्रममा NRNA युएई, नेपाली समाज युएई, अन्य जिल्लागत संघ-संस्था तथा वैचारिक संगठनमा आवद्ध व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्चका कार्यवाहक अध्यक्ष बाबुराम सापकोटा, नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल, संस्थापक उपाध्यक्ष चन्द्रप्रकाश सापकोटा, एनआइजी ग्रुपका प्रतिनिधि मनोज मरहठ्ठा, साथै NRNA युएईका अध्यक्ष विकाश शाही लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अध्यक्ष शाहीले युएईमा कार्यरत नेपाली श्रमिकहरुमा आइपर्ने समस्याहरुको समाधानमा आफ्नो संस्था सधैँ लागिरहेको र भोलिका दिनमा पनि यसलाई कायमै राख्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो।
त्यस्तै, नेपाली राजदूतावास युएईका नियोग उपप्रमुख विशाल भट्टराईले भाषा साहित्य देशको गहना मात्र नभई यो देशको पहिचान पनि भएको उल्लेख गर्नु भयो । कुनै पनि देशलाई समाप्त पार्नु छ भने सबैभन्दा पहिले त्यो देशको भाषा, साहित्यमाथि आक्रमण गरिदिए हुन्छ भन्ने प्रसङ्ग उल्लेख गर्दै उहाँले भाषा र साहित्यको संरक्षण गर्न यस्ता साहित्यिक कार्यक्रमहरु हुनु जरुरी रहेको बताउनु भयो।
सिर्जना वाचन डबली युएईको सह-आयोजना तथा सगरमाथा साहित्य प्रतिष्ठान युएई र अन्तरास्ट्रिय नेपाली समाज युएई सहकार्यमा सम्पन्न कार्यक्रममा युएईमा रहेर कलम चलाउने नेपाली सर्जकहरुको पनि विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा रचना प्रस्तुत गर्ने तीन दर्जन बेसी सर्जकहरुलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको साहित्यपोस्टसहित टाईटल स्पोन्सर, सह-आयोजक र अन्य सहयोगी संघ-संस्थाहरुलाई कार्यक्रम आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।
भौगोलिक तथा ऐतिहासिक पृष्ठभूमि बोकेको नुवाकोट जिल्लाका बारेमा कार्यक्रम संयोजक सुजन थापाले सङ्क्षिप्त रुपमा जानकारी दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सुमन भण्डारी र श्रीभवानी नेपालले अलग अलग रुपमा गर्नु भएको थियो।
“हाम्रो नुवाकोट, हाम्रो शान, सहकारिता र सेवा हाम्रो अभियान” भन्ने मूल नाराका साथ सन् २०१९ मा नुवाकोट सेवा समाज, युएईको स्थापना भएको थियो ।
समाजले अरु धेरै क्षेत्रमा काम गर्दै आए पनि साहित्यिक क्षेत्रमा यो पहिलो कार्यक्रम भएको र आगामी दिनमा यस्तै साहित्यिक कार्यक्रमहरु निरन्तर गर्दै जाने समाजका अध्यक्ष नवीनजंग कार्कीले विश्वास दिलाउनु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।