४६ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित पुष्पलाल र वर्तमान परिस्थिति विषयक अन्तरक्रिया तथा चक्रबहादुर पराजुलीको “मेरो भूमिगत यात्रा” संस्मरणात्मक निबन्धसङ्ग्रह र साहित्यकार अनन्त अर्यालको “कालापत्थर” कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष श्री चक्रबहादुर पराजुलीले गर्नुभएको थियो भने प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री क. पद्मा अर्याल रहनुभएको सो कार्यक्रममा क. पुष्पलाल र वर्तमान परिस्थिति विषयक कार्यपत्र प्रतिष्ठानका अध्यक्ष स्वयम् क. चक्रबहादुर पराजुलीले प्रस्तुत गर्नुभएको थियो । करिव आधा घण्टा लामो वाचनको प्रस्तुतिपछि सो सम्बन्धी टिप्पणी इ. ओम शर्माले गर्नुभएको थियो ।
नेपालमा कम्युनिस्ट पार्टीको स्थापना र तत्पश्चात क. पुष्पलालले गरेको योगदान र अगाडि सारेका नीति तथा कार्यक्रम आज पनि उत्तिकै सान्दर्भिक रहेको कुरा चर्चा गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा चक्रबहादुर पराजुलीद्वारा लिखित ” मेरो भूमिगत यात्रा” र अनन्त अर्यालद्वारा लिखित ” कालापत्थर ” कवितासङ्ग्रहको सँयुक्त विमोचन कार्य सम्पन्न भयो । उक्त पुस्तक द्वयको विमोचन प्रमुख अतिथि पद्मा अर्यालले कभर गरिएको गाता खोलेर सार्वजनीकरण गर्नुभयो ।
“मेरा भूमिगत यात्रा” पुस्तकमाथि समीक्षा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सचिवालय सदस्य पुष्प बरालले गर्नुभएको थियो । पुस्तकले सामाजिक रुपान्तरणको अभियानमा चक्रबहादुर पराजुलीले पुर्याएको योगदानलाई सटिक र ऐतिहासिक ढङ्गले प्रस्तुत गरिएको ऐतिहासिक दस्ताबेजका रुपमा पठनीय पुस्तक भनी चर्चा गर्नुभयो ।
त्यसैगरी, साहित्यकार डा. अच्युतशरण अर्ज्याल र मिलन समीरले अनन्त अर्यालको “कालापत्थर” माथि समीक्षा गर्नुभयो । समसामयिक राजनीति, समाज, नेपाली प्रकृति – संस्कृतिलाई विषयवस्तु बनाई त्यसैको छायाका रुपमा प्रकटीकरण भएर आएका अर्यालका कविता पठनीयका साथै उत्कृष्ट स्तरका रहेको बताउदै कवि अर्यालको लेखनशैली पृथक शैलीको रहेको र बिम्बात्मकता र सरलता उनका कवितामा पाइने विशेषता भनी चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय कमिटीका सचिव पद्मा अर्यालले क. चक्रबहादुर पराजुली कम्युनिस्ट आन्दोलनको एक अथक र आदर्श पुरुष भनी चर्चा गर्नुभयो ।
पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरी नेपाली क्रान्तिमा पुर्याएको योगदान अतुलनीय र आज पनि उत्तिकै सान्दर्भिक रहेको प्रष्ट्याउदै दूरदर्शी नेताका रुपमा रहेको पुष्टि गर्दै प्रस्तुत कार्यपत्र राम्रो रहेको बताउनुभयो । साथै, उहाँले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान समीकरण बनेकोसमेत चर्चा गर्नुभयो ।
त्यसैगरी, विमोचित कृति “भूमिगत यात्रा” र “कालापत्थर”माथि चर्चा गर्दै कृतिकारको सफलता र बधाईको कामना गर्नुभएको थियो ।
समाजसेवी तथा साहित्यिक व्यक्ति ध्रुवप्रसाद शर्मा पङ्गेनीले छोटो मन्तव्यका साथ गजल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सीमा क्षेत्री, नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मीनप्रसाद गुरुङ, नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस, नेकपा एमालेका नेता महेन्द्र थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य ध्रुबप्रसाद शर्मा पङ्गेनी ,नेपाली काँग्रेस वालिङ नगर सभापति नेत्र पाण्डे , नेकपा एमाले जिल्ला कमिटी सदस्य दोबबहादुर कार्की, सूर्यबहादुर पौड्याल, सूर्यप्रसाद खनाल , कमल बगाले,वसन्त खनाल , शम्भु अर्याल रोशन कुँवर, मञ्जु केसी , राम वीर गुरुङलगायत करिव १५० जनाको उपस्थित रहेको थियो ।
कार्यक्रमको अन्त्यमा प्रतिष्ठानमा अध्यक्ष कार्यक्रमका अध्यक्ष चक्रबहादुर पराजुलीले धन्यवाद मन्तव्यसहित समापन गर्नुभयो ।
कार्यक्रमको सञ्चालन पुष्पलाल अध्ययन प्रतिष्ठानका सचिव देवी थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिलिप बगालेले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।