सुरभि साहित्य प्रतिष्ठानले आगामी श्रावण १९ गते, महिनाको तेस्रो शनिबार चौधौँ साधारण–सभा गर्ने र सोही दिन चार जना कथाकार व्यक्तित्वलाई नगद १०,०००।– सहित पुरस्कार प्रदान गर्ने गरी पुरस्कारको घोषणा गरेको छ ।

उक्त दिन दिइने पुरस्कारको लागि प्रतिभा छनौट समितिबाट सिफारिस भई आएबमोजिम सुरभि–अच्युतराम लघुकथा पुरस्कार नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् लघुकथा समाज र ललितपुर कला संस्कृति प्रतिष्ठानका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’लाई, सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार वरिष्ठ कथाकार श्री हिरण्यकुमारी पाठकलाई प्रदान गरिने निर्णय गरेको छ ।

त्यसै गरी सुलेख आख्यान प्रतिभा पुरस्कार आख्यानकार श्री विद्याप्रसाद घिमिरेलाई र सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार आख्यानकार श्री रामचन्द्र दाहाललाई प्रदान गरिने कुरा श्रावण ७ गते बसेको कार्यसमितिको बैठकले अनुमोदन गरेको छ ।

पुरस्कारका लागि प्रतिभा छनौट तथा मूल्याङ्कन समितिमा संयोजक श्री गोपी मैनाली र सदस्य द्वय श्री ठाकुर शर्मा भण्डारी र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष श्री बाजुरामप्रसाद पौडेल हुनुहुन्थ्यो ।