नेपाली कसरी शुद्ध लेख्ने अभियानको भेला सम्पन्न भएको छ । मदन पुरस्कार गुठी स्थित यलमाया केन्द्रमा भएको उक्त भेलाले सर्वोच्च अदालतले असार ९ गते गरेको ऐतिहासिक फैसलाको स्वागत गरेको छ ।
भेलामा तत्कालीन सरकारले भाषा, वर्ण र व्याकरणमा गरेको छेडखानी विरुद्ध अभियान चलाउने र बिगारिएको भाषालाई पहिलेकै अवस्थामा फर्काउन योगदान दिने व्यक्ति र संस्थालाई करतल ध्वनीले सम्मान गरिएको छ ।
१२ वर्ष अघि सरकारले एउटा आदेश जारी गरी नेपाली भाषा, वर्ण र व्याकरणमा बलत परिवर्तन गरेपछि स्वतःस्फूर्त रूपमा नेपाली भाषा प्रयोगकर्ताहरूको दिग्गज समूह भेला भएको थियो । उक्त भेलामा नेपाली भाषाका भीष्म पितामह डा.बालकृष्ण पोखरेल, डा.कुमारबहादुर जोशी, डा.तारानाथ शर्मा, डा.बल्लवमणि दाहाल, लेखक चूडामणि गौतम, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, लेखक तथा पत्रकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, भाषाविद् शरच्चन्द्र वस्ती लगायत सय भन्दा बढी भाषा प्रयोगकर्ताहरू उपस्थित थिए ।
त्यही भेलाबाट निकालिएको निष्कर्ष र अभियानकै सारका रूपमा सम्मानित सर्वोच्च अदालतको आदेश आएपछि त्यसको स्वागतका लागि १२ वर्ष पछि उक्त भेला भएको कार्यक्रममा बताइएको थियो ।
अभियानमा संलग्न केही दिग्गजहरूको देहावसान भइसकेको अवस्थामा उहाँहरूको योगदानको कार्यक्रममा स्मरण गरिएको थियो ।
कार्यक्रममा भाषाविद् शरच्चन्द्र वस्तीले विगत १२ वर्षमा भएका नेकशुले अभियानमा भएको प्रगतिको लेखाजोखा गर्नुभएको थियो ।
कार्यक्रममा महत्त्वपूर्ण आकर्षणको रूपमा भाषाविद् तथा काव्यकार मुकुन्दशरण उपाध्याय, लेखक तथा पूर्व न्यायाधीश प्रकाश वस्ती, कोशकार तथा लेखक चूडामणि गौतम, साहित्यकार खगेन्द्र संग्रौला, साहित्यिक अभियन्ता रमेश खकुरेल, साहित्यिक पत्रकार रोचक घिमिरे र गायिका लोचन भट्टराई उपस्थित हुनुहुन्थ्यो ।
भेलाले ललितपुर घोषणापत्र २०६८ र नेकशुले २०६९ ले जारी गरेको पारित संकल्पलाई निरन्तरता दिंदै सम्मानित सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्दै नेपाली भाषालाई स्वच्छ, उदार एवं गतिशील बनाउँदै लैजाने संकल्प गरेको छ । उक्त संकल्पमा सय भन्दा बढी दिग्गज भाषा प्रयोगकर्ता समूहले हस्ताक्षर गरेका छन् ।
कार्यक्रमलाई शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले सहजीकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रम ब्यानर, सभापति, प्रमुख अतिथि र विधिविधान रहित स्वतःस्फूर्त सञ्चालन भएको थियो ।
कार्यक्रममा उपस्थित व्यक्तिहरूले १२ वर्षपछि सर्वोच्च अधालतको माध्यमद्वारा भाषाकाे खोला फर्किएकाे भन्दै खुशी व्यक्त गर्नुभएको थियाे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।